नेपालगन्ज २२ पुस - नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका केही वडाहरुमा दादुरा तथा रुबेला रोगका संक्रमणहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ । यहि पुस १४ गते ४ जनामा दादुरा रोग पुष्टि भएको थियो । सो रोग नियन्त्रण तथा रोकथामका लागि चेकजाँच अभियान तथा खोप अभियान संचालन गरिएको छ । ४ सय ४१ बालिका र ४ सय ३४ बालक गरि ८७५ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए ।
जनस्वास्थ्य निरीक्षक तेज वलिका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, ५, ७,८,९,१०,११, १४, १५, २२, मा क्रमशः १ जना , ७ जना , १४ जना , ४ जना, २ जना, १ जना, १ जना, ४ जना, १ जना , १ जना गरि जम्मा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुको संख्या बढ्दै गए पछि शुक्रबार देखि नेपालगन्जका वडाहरुमा ६ महिना देखी १५ वर्ष उमेर समुहका करिब १० हजार ९ सय ९६ बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।
दादुराका कारण अढाई बर्षीय बालकले ज्यान गुमाएका छन् । हाल ३५ जना दादुरा प्रभावित बालबालिका उपचारमा रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताए ।वडा नम्बर ५ मा २९६, ७ मा ५०९ र वडा नम्बर ८ मा ७० जनालाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए ।
बालबालिकाहरुमा दादुरा रुबेला रोगको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरि खोप लगाउनका लागि समेत जनस्वास्थ्य निरीक्षक वलिले आग्रह गरेका छन् ।