सरसफाईकर्मीलाई पिपिई सेट वितरण

शाख न्यूज    प्रकाशित: २०७९-९-२१ गते   २२४ पटक हेरिएको

नेपालगन्ज  - नेपालगन्ज  उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री सेट (पिपिई सेट) वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) ले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके अन्तर्गत बुधबार नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत ६५ जना सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गरेको हो ।

नेपालगन्ज  उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, बी-ग्रुपका अध्यक्ष टेकबहादुर पुन, नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, एमडिएम फ्रान्स नेपालगन्जका फिल्ड को-अर्डिनेटर बसन्त थापा, पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँकेका व्यवसाय विकास अधिकृत समद सिद्धिकी लगायतले सरसफाईकर्मीलाई पिपिई वितरण गरेका हुन् । जर्मन सहयोग जिआइजेड र एमडिएम फ्रान्सको सहयोगमा बी-ग्रुपले पिपिई सेट वितरण गरेको हो ।

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले वितरित पिपिई सेटको सही सदुपयोगले जोखिमबाट बच्न सहयोग पुग्ने बताए । कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत रिजाल, बी-ग्रुपका अध्यक्ष पुन, वातावरण इन्जिनियर डिसी, एमडिएम फ्रान्सका नेपालगन्ज संयोजक थापाले वितरित पिपिईले सरसफाईकर्मीलाई सुरक्षा प्रदान गर्दै जीवन रक्षाका लागि सहयोगी हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संचालन पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँकेका कार्यक्रम संयोजक इन्द्रजित सुनारले गरेका थिए ।

पिपिई सेटमा गमबुट १ जोडी, एप्रोन १ पिस, ज्याकेट १ पिस, ट्राउजर १ पिस, तौलिया १ पिस, प्याकिंग झोला १ पिस, क्याप १ पिस, मास्क ३ डिब्बा, स्यानीटाइजर ६ बोतल, भिजिविलिटी ज्याकेट १ पिस, रबर पञ्जा २ जोडी, नाइट्राल पञ्जा २ जोडी, लुगा धुने साबुन ६ पिस र नुहाउने साबुन ६ पिस रहेको बी-ग्रुपकी कृषि प्राविधिक धना रावलले जानकारी दिइन् ।

यसअघि पनि नेपालगञ्ज-२३ हिरमिनियास्थित ल्याण्डफिल साइटमा कार्यरत ४० जना सरसफाइकर्मीहरुलाई पिपिई सेट वितरण गरेको थियो । बी-ग्रुपले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके अन्तर्गत कृषक र सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गर्दै आइरहेको छ । पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सञ्चालनमा रहेको परियोजनाका कार्यक्रम संयोजक सुनारले बताए ।

अप्रिल २०२२ बाट सुरु भएको यस परियोजनाले फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानी रोक्न सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गर्ने उद्देश्य लिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech