नेपालगन्ज २० साउन- बाँकेमा थप ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको सर्वपक्षिय बैठकले मंगलवारदेखि बाँके जिल्लामा थप ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको हो । समुदाय स्तरमै कोरोना देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले एक्सन लिन थालेको छ । नेपालगन्जको सरकारी कार्यालय, पसले, मजदुरी गर्ने व्यक्ति लगायत स्थानिय तहमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले थप ४ दिनको लागि निषेधाज्ञा बढाएको जनाएको छ । केही दिन अघि बाँकेको यातायात कार्यालय, मालपोत कार्यालय, बाँके जिल्ला अदालत, आन्तरिक राजश्व कार्यालय लगायतका कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएपछि ति कार्यालयहरु सिल गरिएको छ । यस्तै आइतवार नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्षमा पनि कोरोना पोजेटिभ देखिएपछि उपमहानगरपालिका नै सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । सोमवार बसेको बैठकले पनि कोरोना समुदाय स्तरमै देखिन थालेको भन्दै निषेधाज्ञालाई थप कडाईका साथ लम्ब्याउने निश्कर्ष निस्केको हुनाले निषेधाज्ञालाई थप गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो । नेपालगन्जमा काम गर्ने मजदुर, मिठाई पसलले, जनप्रतिनिधि र कर्मचारीमा पनि कोरोना देखिन थालेपछि थप कडाईका साथ निषेधाज्ञा लागु गर्न बाध्य भएको प्रजिअ कुरुम्वाङले बताउनुभयो । नेपालगन्जमा आइतवारदेखि लागु गरिएको निषेधाज्ञा थप ४ दिन गरि शनिवारसम्म लागु गरिएको छ । निषेधाज्ञा लागु गरेदेखि नेपालगन्जका पसलहरु पुरै बन्द रहेका छन् भने यातायातका सवारीसाधान पनि चल्न पाएका छैनन् । बजार पुर्णरुपले बन्द रहेको छ । अत्यावश्यक काम बाहेक बाहिर हिडदुल नगर्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ । बाँकेमा ७ जना कर्मचारी र एक जना जनप्रतिनिधिमा कोरोना देखिएपछि कार्यालय र उपमहानगरपालिका कार्यालय अनिश्चितकालिनका लागि सिल गरिएको छ ।