काठमाडौं उपत्यकामा ३१ संक्रमित थपिए, नाकामा गरिएको परीक्षणको नतिजा आउन बाँकी

शाख न्यूज    प्रकाशित: २०७७-४-१८ गते   ७४० पटक हेरिएको

काठमाडौं, १८ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्ला केही दिन देखि संक्रमितको संख्या उल्लेख्यरुपमा थपिने क्रम निरन्तर रहदा आइतबार ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा र ललितपुरका ४ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि हुँदा स्टार अस्पताल सानेपामा ललितपुरका ३ जनामा संक्रमण देखिएको छ ।

यसैगरी नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण देखिएको छ भने टिचिङ अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अुनसार काठमाडौंमा ४ सय ४९, ललितपुरमा १०५ र भक्तपुरमा ५९ संक्रमित गरी कुल उपत्यकामा कुल संक्रमितको संख्या ६ सय १३ पुगेको छ ।

यसैबीच काठमाडौं प्रवेश गर्ने प्रमुख तीन नाकाहरुमा गरिएको परीक्षणको नतिजा भने आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउन १० देखि १३ गतेसम्म नाकामा १० हजार ८ सय २७ जनाको स्वाब संकलन गरिएको छ । न्युज २४ नेपालबाट

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech