मेरो उम्मेदवारी जनताको लागि हो : सुधिर पटेल

शाख न्यूज    प्रकाशित: २०७९-७-१० गते   २६३ पटक हेरिएको

पर्सा १० कार्तिक - आउंदो मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र नं. १ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलले आफ्नो उम्मेदवारी जनताको लागि भएको प्रतिकृया दिएका छन् । अर्थ टेलिभिजनद्वारा सञ्चालित एक कार्यक्रममा बोल्दै उनले जनताका हकहितका लागि विभिन्न क्षेत्रमा आफूले आवाज उठाएको बताएका छन् ।  आफूले आफ्नो एजेण्डाको प्रचार गर्नुभन्दा देश, समाज र आफ्नो क्षेत्रको विकासका लागि गर्नुपर्ने अवश्यक कार्यहरुलाई निरन्तरता दिने बताएका हुन ।

किसानहरुलाई मलको समस्या, शैक्षिक क्षेत्रको हकमा सरकारी विद्यालयहरुमा गुणस्तरिय शिक्षाको अभाव, निजी विद्यालयहरुमा शुल्कको समस्या, सरकारी अस्पतालहरुमा गुणस्तरीय उपचारको अभाव र निजीमा उपचारका लागि चर्को शुल्क तिर्नुपर्ने बाध्यता, बाटोघाटोको समस्याका साथै देशमा रहेको जनशक्ति रोजगारीको अभावमा विदेश पलायन भई उतातिर उपलब्धीमुलक हुनुपर्ने बाध्यता यस क्षेत्रका जनताहरुले   भोगिरहेका छन । यस्ता समस्याको समाधानका लागि आफूले काम गर्ने सुधिर पटेलको भनाईं रहेको छ ।

पटेलले विगतका दिनहरुमा राजनीति गर्ने क्रममा  जनताका आवाजलाई विभिन्न माध्यमद्वारा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा पटक / पटक थुनामा पर्नुका साथै अस्पतालमा समेत भर्ना भएको बताएका छन् । 

मधेश आन्दोलन पश्चात मधेशको राजधानी वीरगञ्ज हुनुपर्ने भन्दै आफूले नै पहिलो आन्दोलन गरेको स्मरण उनले गराए । जनताका लागि गरेका कार्यको मूल्यांकन गर्दै जनताले यसपटक आफूलाई विश्वास गरेको बताउंदै उनले आफ्नो जीत निश्चित भएको दावी गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech