नेपालगन्ज ३१ असोज - नेकपा एकीकृत समाजबादी (एस) का पोलिटब्युरो सदस्य दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीकी बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर विक तुफानले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार आकांक्षी सुनारले सत्ता गठबन्धनको सिट बाँडफाँडमा उक्त क्षेत्र कांग्रेसलाई परेपछि प्रदेशमै पनि चुनाव लड्ने जानकारी नेतृत्वलाई गराएका थिए । तर, उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार माओवादीका उम्मेदवार आइपी खरेलको उम्मेदवारी निष्क्रिय बनाएर सुनारलाई अघि सार्ने सहमति अनुरुप सुनार माओवादी प्रवेश गरेका हुन् ।
२०७० मा बाँके क्षेत्र नम्बर ३ बाट एमालेका तर्फबाट निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री पनि भएका थिए । क्षेत्र नम्बर ३ को दलित समुदायमा सुनारको प्रभाव रहेको बताइन्छ ।