नेपालगन्ज १० असोज - विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा नेपाल कर्मचारी युनियन बाँकेले नेपालगन्जमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । युनियनका बाँके अध्यक्ष उद्धव श्रेष्ठको सभापतित्व तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्ने सहयोगी वक्ताहरुले यस्ता चाडपर्वहरुले एक आपसमा सद्भाव, एकता र भाइचाराको सम्बन्ध स्थापित गर्ने बताए । नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक आयम बोकेको देश भएकाले सबै धर्म समुदायका चाडपर्वलाई एक आपसमा मिलेर मनाउनुपर्ने बताए । खासगरी हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण र ठूलो पर्व दशैंले सबै नेपालीलाई समृद्धिको बाटोमा डोर्याउन सकोस् भनेर उनीहरुले शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्ट, निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, युनियनका प्रदेश उपाध्यक्ष लक्ष्मी केसी, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द पाण्डे, पालिकाहरुको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नेपाल निजामती कर्मचारी युनियनका प्रारम्भिक कमिटी संयोजक जागेश्वर बस्नेत लगायतले शुभकामना दिएका थिए ।