नेपालगन्जमा इस्लाम धर्मावलम्बीहरूले धुमधामका साथ बकर इद मनाउँँदै

शाख न्यूज    प्रकाशित: २०७९-३-२६ गते   ३८१ पटक हेरिएको

मेराज सल्मानी - नेपालगन्ज २६ असार -  नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।
मुस्लिम  धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज नेपालगन्ज लगायत देशभरमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ ।  यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ ।
मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । बकर ईदका अवसरमा आज सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामा रहेका इदगाहमा आ–आफ्नो ढङ्गले नमाज पढ्ने गरेका छ्न । नेपालगञ्जलाई ‘धार्मिक सद्भाव’को सहर मानिन्छ ।

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ । 

हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech