राप्तीसोनारी गाउँपालिकाद्वारा वडागत बजेट बिनियोजन

शाख न्यूज    प्रकाशित: २०७९-२-२९ गते   ५८१ पटक हेरिएको

बाँके २९ जेठ - राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भूगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८/७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको उनले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बजेट बाँडफाड गरेको डाँगीले जानकारी दिए ।

गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि १ करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । ‘वडाको जनसंख्या, भूगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ उनले भने ।

स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रही नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech