लामो समयदेखि अबरुद्ध नहर युवाहरूले ल्याए संचालनमा

फत्तेपुर वडा न ६का किसानहरुले पाए राहत

शाख न्यूज    प्रकाशित: २०७९-२-२७ गते   २८५ पटक हेरिएको

नेपालगञ्ज २७ जेठ - राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसका युवाहरुको सामाजिक कार्यका कारण किसानहरुलाई राहत मिलेको छ । लामो समय बन्द रहेको गाउँपालिकाको वडा नम्बर ६ स्थित फत्तेपुर नहरमा कांग्रेसका युवाहरुको आफ्नै व्यक्तिगत खर्चले नहरमा पानी भित्र्याउन सफल भएका छन् ।       
बर्षा नभएका कारण धानको बीउ राख्ने समय आउन लाग्दा पनि बीउ-बिजन राख्न नपाएर मर्कामा परेका किसानहरुको लागि बिगत ६ महिनादेखि बन्द रहेको नहरमा पानी भित्र्याउन युवाहरुले बिहिवारदेखि आफ्नै श्रोत साधन प्रयोग गर्दै नदीमा बाँध बाँधेर आज नहरबाट सिंचाईका लागि पानी भित्र्याउन सफल भएका हुन् ।बिगत ६ महिना बढी समयदेखि जनप्रतिनिधि र जल उपभोक्ता समितिको उदासिनताले आजित भएका किसानहरुलाई कांग्रेसका युवाहरुको सहयोगले ठूलो राहत मिलेको छ ।
युवाहरुले आफ्ना निजी ५ वटा टिपर, एउटा जेसिबी र एउटा स्काभेटर प्रयोग गर्दै नदीमा बाँध बाँध्दै सिंचाईका लागि पानी भित्र्याउन सफल भएका हुन् । युवाहरुले सवारीसाधनमा लाग्ने इन्धन समेत आफैंले ब्यहोरेका छन् भने एउटा स्काभेटर गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उपलब्ध गराएका थिए । नहरबाट पानी भित्रिएपछि त्यहाँका किसानहरुले कांग्रेसका युवाहरु र गाउँपालिका अध्यक्ष पौडेललाई धन्यवाद दिएका छन् । यसअघि पनि पटक पटक नहरबारे जानकारी गराएपनि वेवास्ता गर्दै आएका जनप्रतिनिधिको अहिले भने बोली बन्द भएको छ । 

कांग्रेसका युवाहरुले वडा नम्बर ६ का बर्तमान अध्यक्ष लबराज खरेलले उक्त नहर सञ्चालन गरी १५ दिनमा पानी भित्र्याउने बताएपनि आफूहरुले दुई दिनमै काम सकेर  किसानलाई राहत दिन सफल भएको  स्थानीयवासीहरुले बताएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech