जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड 

शाख न्यूज    प्रकाशित: २०७९-२-२१ गते   २९५ पटक हेरिएको

धनगढी २१ जेठ – नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६ औँ वर्ष पूरा भएको अवसरमा राज्यमन्त्री रैकाले हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । २०६३ जेठ २१ गते नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानूनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । 
राज्यमन्त्री रैकाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलङ्कका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न र समातामूलक समाज निर्माणको सार्थक प्रयासमा आफू र सुदूरपश्चिम प्रदेश सरकार लागि परेको उल्लेख गरेका छन । 
जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि तीनै तहका सरकारले कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा राज्यमन्त्री रैकाले जोड दिएका छन् । ‘हाम्रो समाजबाट यस प्रथाको अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन म स्थानीय तह, प्रदेश तथा संघीय सरकार, सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा राज्यमन्त्री रैकाले हार्दिक अपिल समेत गरेका छन । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech