नेपालगन्जको धम्वोजी चोक तनाबग्रस्त शालिक राख्ने क्रममा झडप

शाख न्यूज    प्रकाशित: २०७९-२-१९ गते   २८१ पटक हेरिएको

नेपालगन्ज १९ जेठ - पूर्व राजा वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबीच झडप भएपछि नेपालगन्जको धम्वोजी चोक तनाबग्रस्त भएको छ । झडपमा सुरक्षाकर्मी, राप्रपाका कार्यकर्ता र सर्वसाधरणसहित एक दर्जन घाइते भएका छन् । चार जना सुरक्षाकर्मी, अरु प्रदर्शनकारी र सर्वसाधारण घाइते भएका हुन् ।  नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो।शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायत पनि मारिएका थिए। २०६२/६३ को जनआन्दोलनमा विरेन्द्र चोकमा रहेको स्व. राजा विरेन्द्रको शालिक भत्काइएको थियो ।  राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए । त्यस लगत्तै प्रहरीले शालिक हटाएको थियो । स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि प्रहरीले फायर खोलेको बताएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले वीरेन्द्र चोकमा शालिक राखेपछि त्यसलाई हटाउने क्रममा झडप भएको बताए । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरुले वीरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग गर्दै हवाई फायर गरेर शालिक हटाएको बताए । शालिक राख्दैमा प्रहरी त्रसित हुनुपर्ने कारण नै नभएको देवकोटाले बताए । आक्रोशित राप्रपाका कार्यकर्ताहरुले सेतु विक चोकमा रहेको सहिद सेतुको शालिक समेत तोडफोड गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech