दैलेख – कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । साउन ७ गते ठाँँटीकाँधका १६ जना स्थानीयमा सङ्क्रमण देखिएपछि बिहीबारदेखि अर्को आदेश नहुञ्जेलसम्म गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । ठाँटीकाँधमा भारतबाट आएका चार जना कोरोनाका सङ्क्रमित निको भएर समुदायमा पुगिसकेपछि त्यसको चार गुणा बढी समुदायका व्यक्तिमा सङ्क्रमण फेला परेको हो । नयाँ सङ्क्रमित सबैलाई कृष्ण माविको क्वरेण्टीनमा राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताउनुभयो । कोरोना प्रयोगशाला दैलेखले गरेको पछिल्लो परीक्षणमा दैलेखका आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका २४ जनामा सङ्क्रमण देखिएको हो ।
स्थानीय प्रशासन र पालिकाको लापर्वाहीले समुदायमा कोरोना सङ्क्रमण फैलिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति खेमराज केसीको टिप्पणी छ । गएको असार १५ गतेदेखि प्रयोगमा आएको दैलेख प्रयोगशालाले परीक्षण गरेका एक सय एक जना र त्यसअघि कर्णाली प्रदेश प्रयोगशालाले पुष्टि गरेका सात सय ५७ समेत दैलेखमा आठ सय ५८ जनामा कोरोना सङ्क्रमण पहिचान भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । नयाँ पहिचान भएका समेत ७३ जना आइसोलेसनमा बसेका र बाँकी सात सय ८५ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क छ । अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ६२ जना महिला र सात सय ९६ जना पुरुष छन् । उज्यालो अनलाइनबाट