भेरीगंगा १५ माघ - भेरीगंगा नगरपालिका वडा नम्बर ७ का विभिन्न टोलमा स्थानीय सरकार आएको ५ बर्षमा खानेपानी र सिँचाईका लागि दर्जनौ भुमिगत खानेपानी श्रोत डिप टियुबवेल जडान भएका छन् । वडा कार्यालयका वडाअध्यक्ष र जनप्रतिनिधीको सक्रियतामा विभिन्न सरकारी आयोजनाबाट वडामा १२ महिना सिँचाई र पिउने पानीका लागि डिप टियुबवेल जडान भएका हुन् ।
भेरीगंगा नगरपालिका कर्णाली प्रदेशमै धेरै भुमिगत पानी सिँचाई र खानेपानीमा प्रयोग गर्ने वडा बनेको छ । प्रदेशमै अहिलेसम्म धेरै डिप टियुबवेल जडान गर्ने वडा समेत बनेको छ । वडामा महाकाली सिचाई आयोजना, भेरीबबई ड्राईभर्सन आयोजना, नगरपालिका, प्रदेश सरकारर वडाबाट भुमिगत सिँचाई आयोजना निर्माण भएका हुन् । पछिल्लो एकहप्तामा मात्रै वडामा २ वटा डिप टियुबवेल जडान सुरु भएका छन् । महाकाली सिँचाई आयोजनाको सहयोगमा निर्माण सूरु भएका डिप टियुबवेल भेरीगंगा ७ का वडाअध्यक्ष कर्णबहादुर मिजारले उद्घाटन गर्नुभएको हो । वडाको विशेष पहलमा महाकाली सिचाइ ब्यबस्थापन कार्यालय महेन्द्रनगर कंचनपुरबाट भेरीगंगा ७ काठेघारी र प्रगतिशीलटोल टोलमा डिप टियुबवेल जडान कार्य जारी रहेको छ । वडामा अहिलेसम्म १० वटा खानेपानी र सिँचाईका लागि डिप टियुबवेल जडान भएका वडाअध्यक्ष मिजारले जानकारी दिए । अहिलेसम्म सिँचाईका लागि महाकाली सिचाई आयोजनाबाट ३ वटा, भुमिगत सिँचाई आयोजनाबाट १ डिप टियुबवेल जडान भएको छ । नगर र वडाको बजेटबाट खानेपानीका लागि डुमकोट, कौछयाल, मानकोट, झयाक्रेघारीमा ४ वटा , मुलपानी सहकारीसंग साझेदारीमा सिँचाईका लागि १ र कर्णाली प्रदेश सरकारबाट १ खानेपानीका लागि डिपट्युबेल जडान भएको छ । वडामा ५ बर्षमा १० वटा डिपट्युबेल जडानपछि खानेपानी र सिँचाईका लागि सहज भएको स्थानीय शिक्षक मानबहादुर बस्यालले बताए। वडाका जनप्रतिनिधीको पहलमा डिप ट्युबेलबाट सिँचाई र खानेपानीका लागि उल्लेखेनिय काम भएको उहाँको भनाई छ । भेरीगंगा ७ वडामा अहिले सिँचाई र खानेपानीका समस्या टरेको छ । सिँचाईका लागि आकाशे पानी र पिउने पानीका लागि खोलाका कुवामा जानुपर्ने झन्झट समेत हटेको छ ।