नेपालगन्ज - नेपालगन्जका २३ वटै वडाहरुमा कोरोना विरुद्धको 'बूस्टर डोज' आजदेखि लगाउन सुरु गरिएको छ । बाँकेमा यसअघि फ्रन्टलाइनमा रहेर कार्य गर्दै आएकाहरुलाई 'बूस्टर डोज' लगाइएकोमा आज र भोलि नेपालगन्जका सबै वडाका स्वास्थ्य केन्द्रहरुमा कोभिसिल्ड र भेरोसिलको 'बूस्टर डोज' लगाउन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिएका छन् । आज बिहान १० बजेदेखि सुरु गरिएको खोप कार्यक्रम अन्तर्गत ६० बर्ष माथिका नागरिकहरुले 'बूस्टर डोज' खोप लगाउनपाउने जनस्वास्थ्य निरीक्षक बस्नेतले बताए । त्यस्तै यसअघि खोप लगाउन छुटेका फ्रन्टलाइनमा कार्य गर्नेहरुले पनि आज र भोलि लगाउन सक्नेछन् । 'बूस्टर डोज' खोप लगाउन दोस्रो खोप लगाएको ६ महिना पुगेको हुनुपर्ने जनस्वास्थ्य निरीक्षक बस्नेतले जानकारी दिएका छन् । 'बूस्टर डोज' भोलि ४ बजेसम्म लगाइने भएको छ।