नेपालगन्ज - नेपालगन्ज उप-महानगरपालिकाले सम्भावित विभिन्न प्रकोप तथा महामारी जन्य रोग रोकथाम र नियन्त्रणका लागि तत्काल परिचालन हुने गरि टिम गठन गरेको छ । प्रमुख प्रशासकी अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा बुधबार बसेको नगर स्तरीय जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन समितिको बैठकले सुवेदीको संयोजकत्वमा विभिन्न शाखाका प्रमुख सम्मिलित समिति गठन गरेको हो ।
बैठकले जन स्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतको संयोजकत्वमा रेपिड रेस्पोन्स टिम समेत गठन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालगन्ज उपमहानगरपालिकाका पश्चिम नेपालकै अग्रणी शहर भएका कारण यसले प्रकोश तथा महामारी नियन्त्रणका लागि अन्य स्थानीय तहले अनुशरण गर्ने गरि योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कोभिड संक्रमणपछि घरमै आईसोलेसनमा बसेका ब्यक्तिहरुको स्वास्थ्यबारे दैनिक स्वास्थ्यकर्मीले फोनमार्फत जानकारी लिनुपर्ने भन्दै उनले विपदमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैका लागि न्यूनतम सेवा सुविधा उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताए ।
स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन समिति वडास्तरमा रहेका स्वास्थ्य केन्द्र सम्म गठन गरिने बताए । तत्काल कोभिड रोकथाम र नियन्त्रणमा जोड दिइएपनि यसले नियमित रुपमा अन्य समयमा पनि काम गर्ने चन्दले जानकारी दिए ।
सम्भाव्य प्रकोप र महामारी रोकथाम र नियन्त्रणका लागि समितिले योजनावद्ध रुपमा विभिन्न पूर्व तयारी समेत गर्नेछ । नेपालगञ्जमा हाल ३४० जना सक्रिय संक्रमित रहनुभएको छ । ९३ प्रतिशतले कम्तिमा पहिलो खोप लगाएका छन् । खोप लगाउने लक्षित जनसंख्या एकलाख १७ हजार ३७७ मध्ये ७५ हजार ३५ जनाले पूर्ण खोप लगाएका छन् ।