फोटोसहितको मतदाता नामावली डुडुवामा धमाधम संकलन हुँदै

शाख न्यूज    प्रकाशित: २०७८-९-१५ गते   २४६ पटक हेरिएको

बाँके १५ पुस - डुडुवा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य धमाधम भईरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले गाउँपालिकाका कर्मचारी सहित  ४ जनाको टोली खटाई विवरणसहितको नामावली संकलनको कार्य गरिरहेको छ ।

गत पुस ४ गतेदेखि शुरु भएको नामावली संकलनको कार्यमा आज विहीबार दिउसोसम्म १२ सय ४० जनाको मतदाता नामावली संकलन भएको दर्ता कर्मचारी कौशल कैरातीले बताएका छन्  । उनका अनुसार मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेर नागरिकता नबनाएका तथा बाहिर जिल्ला तथा स्थानीय तहबाट बसाई सराई गरि आएर बसेका नागरिकहरुको मतदातामा नामावली संकलन गरिएको छ ।
डुडुवा गाउँपालिका वार्ड नंं ३ बनकट्टीमा विवरण संकलन केन्द्रको स्थापना गरि वार्ड नंं १ देखि ६ वडाका नागरिकहरुको नामावली संकलन भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले  जानकारी दिए ।


 हिडडुल गर्न नसक्ने तथा सवारी साधन नभएका महिला तथा जेष्ठ नागरिक, असहाय, तथा अति विपन्न, अपांगता भएका सम्पुर्ण नागरिकहरुलाई घरबाट संकलन केन्द्रसम्म आवत जावतका लागि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले सम्पुर्ण नेपालीहरुको मताधिकारको संरक्षण गर्दै गाउँपालिका अन्तर्गत कुनै पनि नागरिक मताधिकारबाट बञ्चित नहुन भनेर सबैलाई आफ्नो नामावली दर्ता गराउन आग्रह समेत गरेका छन् ।


मतदाता नामावली संकलन केन्द्र बनकट्टीमा प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायसहितको टोलीले विवरण संकलनको कार्य प्रक्रियाका बारे अनुगमन गरेको छ ।


विवरण संकलन केन्द्रमा अहिले चिसो तथा शितलहरले बढेको चिसोबाट छल्नका लागि गाउँपालिकाले आगो ताप्न दाउराको समेत व्यवस्था गरेको छ । डुडुवामा पुस १८ गतेसम्म नामावली संकलन गरिनेछ । छुटेकाहरुलाई तीन दिनभित्र आफनो नाम दर्ता गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech