बिद्यालय आवत जावत गर्नमा सहजता प्रदान गर्ने उद्देश्यले नरैनापुरमा बिहीबार साइकल वितरण गरियो

शाख न्यूज    प्रकाशित: २०७८-८-१६ गते   २८९ पटक हेरिएको

बाँके १६ मंसिर - बाँकेको नरैनापुर गाउँपालिकाभित्र अध्ययन गर्ने कक्षा ६ देखी १२ सम्मका छात्रालाई बिहीबार साइकल हस्तान्तरण गरिएको छ । छात्रालाई बिद्यालयतर्फ आर्कषण गर्ने उद्देश्यले उनीहरुलाई निःशुल्क साइकल हस्तान्तरण गरिएको हो ।  लुम्बिनी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले साइकल वितरण गरेको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत उक्त गाउँपालिका भित्र रहेका ३ वटा माध्यामिक र एउटा आधारभुत बिद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १२ सम्मका ५ सय २ जना छात्रालाई साईकल वितरण गरिएको उनले बताए ।गाउँपालिकाभित्र ३ वटा माध्यामिक तह, एउटा आधारभुत तह र ४२ वटा प्राथमिक तहका सामुदायिक बिद्यालय रहेका छन् ।
साइकल वितरण गरेपछि पढ्ने उमेरका बालिकाहरु बिद्यालयको पहुँचमा आउने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । छात्रालाई घरबाट बिद्यालय आवत जावत गर्नमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरिएको उनले बताए ।
साइकल वितरण कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले नरैनापुरको विकासका लागि शैक्षिक सुधार हुन आवश्यक रहेको बताइन् । छात्रालाई साईकल वितरण गरेपछि शैक्षिक सुधारमा टेवा पुग्ने उनको विश्वास छ । करिव ५० लाख बजेटबाट साइकल खरिद गरेर छात्रालाई साइकल वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । निःशुल्क साइकल वितरण कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुना ,गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु, लेखा शाखा प्रमुख प्रकाश अधिकारी, जनप्रतिनिधिहरु, स्थानीय, शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । बाँके जिल्लामै पहिलोपटक नरैनापुर गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मका ६०० छात्राहरुलाई साइकल वितरण गरेको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech