फर्जी नाम खारेज नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिइने : युवा नेता केसी

शाख न्यूज    प्रकाशित: २०७८-७-२५ गते   २७६ पटक हेरिएको


नेपालगन्ज - नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयस्थित निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरिएपछि बाँकेको अधिवेशन प्रक्रिया रोकिएको छ । निर्वाचन समितिले हाललाई निर्वाचनका सबै कार्यक्रम स्थगित गरेको छ ।

छुट नामावली भन्दै २३९ फर्जी नाम समेट्न खोजेको सूचना पाएपछि संस्थापन इतर समूहका नेताहरुले बुधबार साँझ निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरेका हुन् । फर्जी नाम खारेज नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिइने युवा नेता पोषण केसीले बताए ।

कार्तिक २७ गते हुने तय भएको वडा अधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको निर्वाचन समितिले तालाबन्दीपछि निर्वाचन प्रकिया स्थगित गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ  अधिवक्ता रेवतीरमण भट्टराईले बताए । विहिवारका लागि निर्धारित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको अभिमुखीकरण पनि स्थगित गरेको उनले जानकारी दिए ।

समस्या समाधानका लागि छलफलको प्रयास भैरहेको भट्टराईले बताए । जिल्ला निर्वाचन समितिले बुधबार नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको थियो । यो घटनापछि अब बाँकेको अधिवेशन निर्धारित मितिमा नहुने देखिएको छ । यसले कार्यकर्तामा फेरि अन्यौलता बढाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech