नेपालगन्ज -३१, असोज- बाँके प्रहरीले तस्करीविरुद्धको अभियान अन्तर्गत भन्सार छली गरेर ल्याइदै गरिएको अबैध मोबाइल सेट बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारी र इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको तस्करी निस्तेज अभियान अन्तर्गत गरिएको संयुक्त अपरेशनको टोलीले ९ सय थान मोबाइल सेट बरामद गरेको छ। प्रहरी सहायक निरीक्षक अधिकारी र नायब निरीक्षक बिष्टको टोलीले भारतबाट भन्सार छली गरेर मोबाइल नेपालगन्ज भित्रिएको भन्ने बिशेष सूचनाका आधारमा नेपालगन्ज १५ जमुनाह गाउँबाट ६ लाख ३० हजार रुपैयाँ बराबरका ९ सय थान आइटेलको की प्याड मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
तस्करी निस्तेज अभियान अन्तर्गत असोज २७ गते बरामद गरिएका ९ सय थान मोबाइल सेटलाई बिजया दशमीको सार्वजनिक बिदाका कारण आज मात्रै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी अधिकारीले जानकारी दिएका छन् । बाँके प्रहरीले तस्करीविरुद्ध अपरेशन नै चलाएपछि अहिले तस्करहरुको निद्रा हराम हुँदै आएको छ। बाँके प्रहरीले साना वा ठुला अबैध सामाग्री धमाधम बरामद गर्दै आएको छ।