नेपालगन्ज १२ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले राष्ट्रलाई जोगाउन अब नेपाली काँग्रेस पार्टीले मात्र सकिने बताउनुभएको छ । अरु पार्टीका नेताहरुको कारण सांसद भन्न पनि असोभनिए भएको उहाँले बताउनुभयो । संविधान र राष्ट्रलाई जोगाउने जिम्मेवारी अब कांग्रेसको काँधमा आएको बताउनुभयो ।
नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले संसद पुनस्थापना गरिसकेपछि अझैपनि नेपाली कांग्रेसले सदनमा रेफ्रीको भूमिका निभाउनुपर्छ, संविधानलाई जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइ सकेको उहाँले बताउनुभयो । काँग्रेसले जितेको ठाउँमा राम्रै विकास भएको उहाँले दावी गर्नुभयो ।
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा गइसकेपछि नेपाली कांग्रेसले सम्मानित सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने बताउँदै आएको र अदालतको आदेश आइसकेपछि पार्टीले त्यसलाई स्वागत गरेको स्पष्ट पार्नुभयो । सत्ताको लागि नेकपा भित्रको विवादले नेपाली काँग्रेसलाई फाइदा भएको उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
‘अदालतले संसद पुनस्थापना गरिसकेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो, तर उहाँले सहजै राजीनामा दिने संकेत नदेखिएको बताउनुभयो । राजनीतिक मुद्दालाई सडकबाट नै ब्युताउनुपर्ने उहाँले धारणा राख्नुभयो । ‘अब १३ दिनभित्रमा संसद बैठक बस्छ, त्यही बैठकमै प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको सामना गर्न सक्ने उहाँले बताउनुभयो ।’
संसद पुनस्थापना हुँदा देश ठूलो दुर्घटना हुनबाट जोगिएको उहाँको भनाइ छ । नेपाली कांग्रेस जिम्मेवार पार्टी भएका नाताले प्रजातन्त्र जोगाउनका लागि ठूलो जिम्मेवारी आएको बताउनुभयो । ‘अब देशलाई कुन मोडमा लैजाने, त्यसमा कांग्रेसले गम्भीर ढंगले सोच्नुपर्छ, उहाँले भन्नुभयो । कांग्रेसले सत्ताका लागि मरिहत्ते नगर्ने तर, मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि सत्ताको नेतृत्व गर्न पछाडी नहट्ने नेता शाहीले जोड दिनुुभयो । ‘राजनीतिमा प्रतिपक्षमा बस्ने र सत्तामा जाने कुरा सामान्य कुरा हो, तर सत्तामा जानका लागि खराब खालको दृष्टिकोण कांग्रेसले अवलम्वन नगरोस नेता शाहीले भन्नुभयो । गाउँ गाउँमा अहिले नेपाली कांग्रेसप्रति जनलहर बढेको केन्द्रीय सदस्य शाहीले जिकिर गर्नुभयो ।