चितवन १५ कार्तिक - बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले दशैंको अवसरमा नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना गरेको बेवारिसे अवस्थामा रहेका बालबालिका हरु लगायत सबैलाई निःशुल्क खाना खुवाउने कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो केन्द्रले कातिक १ गते घटस्थापनाबाट दोस्रो चरणको खाना खुवाउने अभियान सुरु गरेको थियोे । दशैंको अवसरमा कोहि पनि भोकै बस्न नपरोस् तथा चाडपर्वको बेला भएपनी नयाँ लुगा लगाउन मिलोस भन्ने हेतुले बिहान र बेलुकाको खाना खुवाइएको थियोे । दशैंका दिन बेवारिसेहरुलाई टिका लगाएर दक्षिणा र नयाँ लुगा पनि वितरण गरिएको सो केन्द्र चितवनका कोषाध्यक्ष चन्द्रा कार्की ले जानकारी दिनुभयो ।
यसका साथै तिहार पनि उनीहरुसंगै मनाउने योजना रहेको जानकारी दिनुभयो । हरेक दिन बिहान ११ बजे र बेलुका ६ बजेपछि खाना खानका लागि आउने गर्थे । नारायणी किनारमै खाना पकाएर सामाजिक दुरी कायम गरि लामबद्ध रुपमा उनीहरुलाई खाना खुवाइन्थ्यो । भरतपुर महानगर सहयोगापेक्षी सडक मानवमुक्त महानगरका रुपमा घोषित छ । तर सहयोगापेक्षी सडक मानवहरु महानगरमा अझै जस्ताको त्यस्तै रहेको छ । ‘खाना खान दैनिक करिब ४ सय जनासम्म आउने गर्थे । जसमध्ये २८४ जना बेवारिसेहरु नै छन् ।
घरपरिवार भएकाहरुको पहिचान गरेर उनीहरुलाई आफ्नो घरमा पठाउने काम सो केन्द्रले गरेको थियो । विभिन्न व्यक्ति, संघसंस्था र पसलहरुहरुले पनि खाना खुवाउनका लागि आर्थिक सहयोग गरेको केन्द्रका अध्यक्ष बिनय जंग बस्नेत ले बताए । कसैले जन्मदिन, वैवाहिक वर्षगाँठ, कुनै संघसंस्था वार्षिकोत्सको अवसरमा पनि खाना खुवाउनका लागि सहयोग गर्ने गरेको बस्नेतले जानकारी दिनुभयो । सहयोगीमनहरु प्रति आभार प्रकट समेत गर्दै सहयोगको रकम अपुग भएपछि पसलहरुबाट उधारोमा बेवारिसेहरुलाई लत्ताकपडा किनेको जानकारी दिनुभयो । जस्तोसुकै अवस्थामा पनि बेवारिसेहरुको सेवामा निरन्तर अग्र पंक्तिमा लागिरहने कार्कीले जानकारी दिनुभयो । यसअघि पहिलो चरणमा सो केन्द्रले भदौ ५ गतेदेखि असोज ५ गतेसम्म लियो क्लब अफ भरतपुर युथलाई सहकार्यमा निषेधाज्ञाका बेला खाना खुवाइएको थियो।