होटल व्यवसायी संघ बाँकेद्वारा शुभकामना आदानप्रदान

शाख न्यूज    प्रकाशित: २०८३-६-२७ गते   ६५ पटक हेरिएको

नेपालगन्ज - होटल व्यवसायी संघ बाँकेले विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष भीमलाल कँडेलको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, पत्रकार तथा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, होटल व्यवसाय संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष भाष्कर काफ्ले, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली, नेपालगन्ज पर्यटन परिषद् बाँकेका अध्यक्ष अध्यक्ष केशव न्यौपाने, होटल संघ नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्षहरू रंगबहादुर खड्का र दीपेन्द्र जोशी, संघका कानुनी सल्लाहकार वसन्त गौतम तथा प्रेस सल्लाहकार झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले नेपाली समाजमा विशेष महत्त्व राख्ने चाडपर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । चाडपर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै समाजमा शान्ति, सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने उनीहरूको भनाइ थियो । नेपालगञ्ज धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताले भरिपूर्ण सहर भएकाले यहाँको मौलिक पहिचान र सामाजिक सद्भावलाई कायम राख्न सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

त्यस अवसरमा होटल व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै होटल व्यवसायको विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न होटल तथा पर्यटन व्यवसायको स्तरोन्नति, गुणस्तरीय सेवा र पर्यटकमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता गरेका होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कँडेलले उपस्थित सबैलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै संघले होटल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्दै आएको बताए । कार्यक्रममा सहभागीहरूले एक अर्कालाई विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी एकता, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । महासचिव प्रेमबहादुर शाहले सञ्चालन गरेको कार्यक्रममा सचिव थुमबहादुर क्षेत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech