नेपालगन्ज — प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह र शिक्षा क्षेत्रमा विगत ३५ वर्षदेखि निरन्तर समर्पित आदरणीय शिक्षासेवी विकास बहादुर सिंहबीच शुक्रबार नेपालगन्जमा विशेष भेटघाट तथा अर्थपूर्ण संवाद भएको छ। आपसी सहकार्य, शिक्षाको विकास र सामाजिक सद्भावका विविध आयामहरूमा केन्द्रित सो भेटघाटले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
भेटघाटका क्रममा सांसद डा. सिंहले नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमिको चर्चा गर्दै यस क्षेत्रको विशिष्ट पहिचानलाई प्रस्ट्याएका छन्। उनले नेपालगन्जलाई हिन्दू–मुस्लिम समुदायबीचको अनुपम भाइचारा, आपसी सद्भाव र धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरेका थिए।
नेपालगन्जले वर्षौंदेखि कायम राखेको यो सामाजिक एकता र विविधताबीचको लय केवल नेपालका लागि मात्र नभई सम्पूर्ण विश्वकै लागि एक प्रेरणादायी नमुना रहेको धारणा डा. सिंहले व्यक्त गरे। यसैगरी, डा. सिंहले शिक्षाको ज्योति फैलाउन विकास बहादुर सिंहले साढे तीन दशक (३५ वर्ष) देखि पुर्याउँदै आएको अथक योगदानको उच्च मूल्यांकन गरेका छन् ।
समाज रूपान्तरणमा शिक्षाको भूमिका सर्वोपरी हुने उल्लेख गर्दै उनले सिंहको सक्रिय नेतृत्व, उत्कृष्ट कार्यसम्पादन, शालीन एवं शिष्ट व्यवहार तथा निःस्वार्थ सामाजिक सेवाको खुल्ला हृदयले प्रशंसा गरे । शिक्षासेवीले समाजलाई दिशानिर्देश गर्न सक्ने भन्दै उनले सिंहको व्यक्तित्व आगामी पुस्ताका लागि समेत अनुकरणीय रहेको बताए।
सामाजिक सेवा र धार्मिक–सामाजिक सद्भावलाई मुख्य एजेन्डा बनाइएको विशेष भेटघाटले नेपालगन्जको बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउनुका साथै समृद्ध समाज निर्माणका लागि शिक्षा र मानवीय एकता कति महत्त्वपूर्ण छन् भन्ने कुरालाई पुनः उजागर गर्दै आगामी दिनमा सामाजिक सहकार्य र विकासका कार्यहरूलाई अझ उचाइमा पुर्याउने साझा प्रतिबद्धता समेत गरेका छन् ।