सीमा सुरक्षाकर्मीबीच भलिबल: भारतीय एसएसबीलाई हराउँदै सशस्त्र प्रहरी विजयी

शाख न्यूज    प्रकाशित: २०८३-६-४ गते   ३३८ पटक हेरिएको

नेपालगन्ज - नेपाल र भारतका सीमा सुरक्षाकर्मीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आइतबार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ। 

भारतको रुपैडिहास्थित ४२औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) को बीओपी परिसरमा सम्पन्न खेलमा नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी) लाई २–१ को सेटमा पराजित गरेको हो। 

सीमा क्षेत्रमा हुने यस्ता मैत्रीपूर्ण खेल तथा कार्यक्रमले सुरक्षा निकायबीचको औपचारिक सम्बन्धसँगै व्यक्तिगत तहमा समेत आपसी चिनजान, विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने सहभागीहरूले बताएका छन् ।

सीमा सुरक्षा, अपराध नियन्त्रण, अवैध गतिविधि नियन्त्रण तथा सीमासँग सम्बन्धित विभिन्न विषयमा नेपाल र भारतका सुरक्षा निकायबीच नियमित समन्वय हुँदै आएको अवस्थामा खेलकुदजस्ता कार्यक्रमले सम्बन्धलाई थप आत्मीय र प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

दुई देशका सीमा सुरक्षा निकायबीच आपसी समन्वय, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन यो खेलको आयोजना गरिएको हो। खेलको औपचारिक शुभारम्भ दुवै देशको राष्ट्रिय गान गाएर गरिएको थियो। 

सीमा क्षेत्रमा तैनाथ दुवै देशका सुरक्षाकर्मीहरूबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध र सहकार्यलाई थप प्रगाढ बनाउने सन्देश दिँदै प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech