एञ्जल्स स्कुल नेपालगंजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख रुपैयाँ सहयोग

शाख न्यूज    प्रकाशित: २०८३-५-२४ गते   ३५१ पटक हेरिएको

बाँके  - शिक्षा क्षेत्रमा साढे चार दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको नेपालगंजस्थित एञ्जल्स स्कुलले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ९,००,०००/- (नौ लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ । मुलुकमा परेका प्राकृतिक विपत्ति र संकटका बेला नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले विद्यालयले उक्त परिमाणको सहयोग राशि हस्तान्तरण गरेको हो ।

स्वामी विवेकानन्दको "गरिब, अज्ञानी तथा उत्पीडितहरूका लागि सहानुभूति प्रकट गर र हृदयदेखि नै महसुस गर, तब तिमीमा अद्भुत शक्ति, मद्दत र अदम्य ऊर्जा आउनेछ" भन्ने ओजस्वी विचार र मानवीय सेवाभावबाट प्रेरित भई विद्यालयले यो कदम चालेको जनाएको छ ।

वि.सं. २०३६ (इ.सं. १९७९) मा शिक्षाविद् तथा संस्थापक बिना मल्लको एकल प्रयासमा नेपालगंजको घरबारी टोलबाट सुरु भएको एञ्जल्स स्कुलले हालै आफ्नो ४७ वर्षको सफल यात्रा पूरा गरेको छ । हाल न्युरोड हुँदै शान्तिनगरसम्म विस्तारित भइसकेको यस विद्यालयले स्थापनाकालदेखि नै शिक्षालाई केवल पाठ्यपुस्तक र ज्ञान आर्जनमा मात्र सीमित नराखी सामाजिक रूपान्तरण र सेवाको बलियो माध्यम बनाउँदै आएको छ । 

विपद् व्यवस्थापन र सामाजिक सेवामा ऐतिहासिक अग्रसरता रहेको छ । एञ्जल्स स्कुलले विगतमा पनि मुलुकले भोगेका ठूला-ठूला प्राकृतिक विपत्ति र सामाजिक कठिनाइका समयमा उद्धार र राहतमा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ । 

 सर्लाही जिल्लामा  वि.सं. २०५० सालमा आएको विनाशकारी बाढीको समयमा विद्यालयकी संस्थापक बिना मल्ल आफैँ स्थलगत रूपमा प्रभावित क्षेत्रमा पुगेकी थिइन् । सोही बाढीका कारण असहाय र अनाथ बनेका बालबालिकाहरूलाई नेपालगंज ल्याएर उनीहरूको शिक्षा, दीक्षा र सम्पूर्ण जीवननिर्वाहको व्यवस्था समेत विद्यालयले आफ्नै खर्चमा मिलाएको थियो ।

त्यसैगरी केही वर्षअघि राप्ती नदीमा आएको भीषण बाढीका कारण डुबानमा परेका स्थानीय गाउँवासीहरूका लागि संस्थापक मल्लको प्रत्यक्ष उपस्थितिमा खाद्यान्न तथा आकस्मिक राहत सामग्री वितरण गरिएको थियो ।

शिक्षा, सेवा र मानवीयतालाई आफ्नो मुख्य आदर्श मान्दै आएको एञ्जल्स स्कुल नेपालगंजको यो पछिल्लो सहयोगले विपद्मा परेका नागरिकप्रति सहानुभूति, करुणा र सामाजिक उत्तरदायित्वको भावनालाई थप मजबुत बनाएको छ । विद्यालयको यस सह्रानीय कार्यले समाजका अन्य क्षेत्र, संस्था र व्यक्तिहरूलाई समेत मानवीय सेवामा लाग्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech