भोटेकोशी बाढीपीडितलाई दिपक स्कुलको १ लाख ५ हजार सहयोग

शाख न्यूज    प्रकाशित: २०८३-५-२४ गते   २१० पटक हेरिएको

बाँके - खजुरा गाउँपालिका–३, खजुरा बाँकेस्थित दिपक इङ्लिस मिडियम हाई स्कुलले भोटेकोशीमा गत भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका लागि १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) बाँकेको खातामा जम्मा गरेको हो।

प्याब्सनले देशमा आएको प्राकृतिक विपत्तिमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले बाँकेका निजी तथा आवासीय विद्यालयहरूबाट आर्थिक सहयोग संकलन गरिरहेको छ। जिल्लाका विभिन्न विद्यालयबाट संकलन हुने रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार दिपक स्कुलले पनि आफ्नो तर्फबाट सहयोग रकम उपलब्ध गराएको हो।

दिपक इङ्लिस मिडियम हाई स्कुलका सञ्चालक एवं प्याब्सन नेता राजेन्द्र आचार्यका अनुसार राष्ट्रिय विपत्तिका समयमा विद्यालयले विगतदेखि नै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न राहत तथा सहयोग अभियानमा सहभागिता जनाउँदै आएको छ।

उहाँले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको दुःखमा विद्यालय परिवारको तर्फबाट ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले रकम प्याब्सनको खातामा जम्मा गरिएको बताएका छन् ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा सामाजिक संस्थाहरूले सहयोग गरिरहेका छन्।

प्याब्सन बाँकेमार्फत जिल्लाका विद्यालयहरूबाट संकलित रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने बताइएको छ। दिपक स्कुलले गरेको यस सहयोगले विपद्को समयमा शैक्षिक संस्थाहरूले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech