नेपालगन्ज - आवश्यक मर्मत भएसँगै भेरी अस्पतालबाट नियमित रूपमा सिटी स्क्यान सेवा उपलब्ध हुन थालेको छ । लामो समयदेखि बिग्रिएर अवरुद्ध रहेको भेरी अस्पतालको सिटी स्क्यान (CT Scan) सेवा मर्मत भएपछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार प्राविधिक समस्याका कारण लामो समयदेखि सेवा बन्द हुँदा बिरामीलाई निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउनुपर्ने बाध्यता थियो ।
सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बाँके, बर्दिया, सुर्खेत, दाङ लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आउने बिरामीले सहज र सुलभ रूपमा सेवा पाउने छन् । यसबाट आर्थिक रूपमा कमजोर बिरामीलाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ ।
डा.दर्नालले सेवा नियमित र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक व्यवस्थापनलाई थप सुदृढ बनाइने बताए । साथै, स्वास्थ्य उपकरणहरूको नियमित मर्मत तथा निगरानीलाई पनि प्राथमिकतामा राखिने उनको भनाइ छ ।