राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०८३-३-१० गते   २८८ पटक हेरिएको

बाँके - राप्तीसोनारी गाउँपालिकाले ९२ करोड ४२ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा आयोजित गाउँसभाको १९औं अधिवेशनमा उपाध्यक्ष मनिषा सिंह थारुले आगामी आर्थिक बर्ष २०८३/८४ का लागि ९२ करोड ४२ लाख ३९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमध्ये चालूतर्फ ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ ३० करोड ७४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ । विषयगत शाखामध्ये शिक्षा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ । शिक्षाका लागि ४० करोड ४४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसबाट प्रविधिमैत्री, गुणस्तरीय, समावेशी तथा रोजगारमुखी शिक्षा प्रणाली विकास गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य क्षेत्रका लागि ११ करोड ३ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ ।

कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ९८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउबिजन प्रयोग, पशु स्वास्थ्य सेवा तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यस्तै रोजगार प्रवद्र्धनका लागि १ करोड १ लाख ४४ हजार रुपैयाँ, वन, वातावरण, खानेपानी तथा विपद् व्यवस्थापनका लागि १ करोड २५ लाख रुपैयाँ, महिला, बालबालिका तथा समावेशीकरण कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै पूर्वाधार योजना तथा एकीकृत सेवा विकास कार्यक्रमका लागि ३ करोड रुपैयाँ, सूचना प्रविधि तथा डिजिटल पूर्वाधारका लागि ५० लाख रुपैयाँ, साझेदारी प्रवद्र्धन, सामाजिक विकास, स्वास्थ्य उपचार तथा मर्मत सम्भार कोषका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरिएको छ ।

सभाध्यक्ष पौडेलले नीति तथा कार्यक्रमको प्रस्तुत गर्न वडा नम्बर ७ का वडा अध्यक्ष एवम् विधायन समिति संयोजक रामलखन थारुलाई दिएका थिए । नीति तथा कार्यक्रमपछि बजेट प्रस्तुत गरिएको थियो । ९ वटा वडा रहेको राप्तीसोनारीमा हरेक वडालाई ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ । अधिवेशनको सुरुमा वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेल, ७ का अध्यक्ष थारु र वडा नम्बर ९ का वडा अध्यक्ष सोहनलाल थारुले मन्तब्य ब्यक्त गरेका थिए । गाउँ सभाको सहजीकरण  प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech