यादव समाजमा एकता र आर्थिक कोषको आवश्यकता: नगर प्रमुख मुक्तिनाथ यादव

शाख न्यूज    प्रकाशित: २०८३-२-१६ गते   ३६६ पटक हेरिएको

बाँके - बर्दियाको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यादव समाजको उत्थानका लागि आन्तरिक एकता र मजबुत आर्थिक आधार निर्माण हुनुपर्नेमा जोड दिएका छन् । बाँकेको नेपालगन्जमा सम्पन्न यादव समाज सेवा केन्द्र, केन्द्रीय समितिको २०औँ साधारण सभा तथा ५औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले  यस्तो धारणा राखेका थिए ।

नगर प्रमुख यादवले समाजको संस्कार र पहिचानलाई भावी पुस्तासम्म लैजानुपर्ने बताउनुभयो । उनले भने, "हाम्रो आफ्नै मौलिक पहिचान र वेशभूषा छ । कम्तीमा समाजका कार्यक्रमहरूमा आफ्नो सांस्कृतिक पहिचान झल्कने धोती-कुर्ता जस्ता सामाजिक पहिरन लगाएर उपस्थित हुन जरुरी छ ।"

यादव समुदायभित्र रहेका गरिब तथा विपन्न वर्गका परिवारलाई सामाजिक रूपमै आर्थिक सहयोग गर्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव थियो । मारवाडी समुदायको उदाहरण दिँदै उनले विपन्न परिवारका छोरीहरूको विवाह तथा अन्य आवश्यकतामा सहयोग गर्न समाजले एउता छुट्टै कोष खडा गर्नुपर्ने प्रस्ताव गरेका थिए  । यसका लागि किसानहरूले पैसा मात्र नभएर सिजन अनुसार धान वा अन्य अनाज स्वेच्छिक रूपमा दान गरेर पनि सहयोग संकलन गर्न सक्ने उहाँले व्यावहारिक उपाय दिएका छन्  ।

बर्दिया जिल्लामा यादव समुदायको जनसंख्या छरिएर रहेको उल्लेख गर्दै उनले  बढैयाताल, बाँसगढी, राजापुर र गुलरिया लगायतका स्थानीय तहका गाउँ र वार्ड स्तरसम्मै छिट्टै समिति गठन गरिने जानकारी दिएका छन्  । किसानहरू धान खेती सकेर फुर्सदमा रहने र कर्मचारीहरू पनि सरकारी कामबाट केही फुर्सदिलो हुने वर्षातको समयमा लुम्बिनी प्रदेश तथा बाँके र दाङका अगुवाहरूसँग बसेर बर्दियामा संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने उनको योजना छ । गुलरियामा मात्रै करिब ४ हजार  यादव मतदाताको जनसंख्या रहेको उनले उल्लेख गरेका छन् । 

"आपसी फुटले बाहिरकालाई लुट्ने मौका दिन्छ" भन्दै उनले छिमेकी देश भारतमा शिवपाल यादव र अखिलेश यादवबीचको फुटले पुर्‍याएको राजनीतिक राजनीतिक क्षतिबाट पाठ सिक्नुपर्ने चेतावनी दिएका छन् । नेपालमा यादव समुदायको ठूलो जनसंख्या भए तापनि आपसी ईर्ष्या र खुट्टा तानातान गर्ने प्रवृत्तिका कारण सोचे जस्तो राजनीतिक फड्को मार्न नसकेको उनको भनाइ थियो ।

मा. भण्डारी लाल यादव कृषि मन्त्री बन्दा सम्पूर्ण समाजले गर्व महसुस गरेको स्मरण गर्दै उनले समाजका ठूला र प्रतिष्ठित व्यक्तित्वहरूलाई पनि मन फराकिलो पारेर समाजको बृहत्तर एकता र विकासका लागि अगाडि आउन आग्रह गरेका छन्  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech