बाँके - यादव समाज सेवा केन्द्र, केन्द्रीय समिति बाँके, नेपालगन्जको २०औं साधारणसभा तथा ५औं महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। उक्त विशेष कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय भण्डारी लाल यादवले समाजको चौतर्फी विकासका लागि शिक्षा र संस्कार अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मा. पुर्व मन्त्री यादवले विभिन्न उतारचढावका बीच पनि संस्थालाई २० वर्षसम्म निरन्तर अगाडि बढाउन योगदान दिने संस्थापक तथा अग्रज व्यक्तित्वहरूको उच्च प्रशंसा गरेका छन् ।
आफ्नो मन्तव्यका क्रममा पूर्व मन्त्री यादवले यादव समुदाय राजनीतिक र सामाजिक रूपमा केही पछाडि परेको महसुस भए पनि अन्याय र अत्याचारका विरुद्ध सदैव अग्रपंक्तिमा उभिने वीर पहिचान बोकेको उल्लेख गरेका छन् । "हाम्रो समाजले सधैं स्वाभिमान र न्यायको लागि लडाईं लडेको छ, तर अबको आधुनिक युगमा समाजलाई अझ अगाडि बढाउन उच्च शिक्षा र सही संस्कारको आवश्यकता छ," उनले भने ।
मन्तव्यका क्रममा पूर्वमन्त्री यादवले यादव समुदाय जहिले पनि समाजको भ्रष्टाचार, उत्पीडन र दासता विरुद्ध अग्रपंक्तिमा उभिएर लड्दै आएको बताएका छन् । "हाम्रो समाज अरूको हकअधिकार र न्यायका लागि आफ्नै दुःख भुलेर पनि आवाज उठाउने समाज हो," उनले भने, "तर जहाँ संघर्ष र स्वाभिमानको कुरा आउँछ, त्यहाँ अघि बढे पनि शिक्षा र राजनीतिको मूलधारमा हामी अझै पछाडि छौं । यो कमजोरीलाई अब बदल्नुपर्छ ।"
पछिल्लो समय युवा पुस्ताबाट डाक्टर, इन्जिनियर र शिक्षकहरू उत्पादन भइरहेकोमा खुसी व्यक्त गर्दै उहाँले नयाँ पुस्तालाई सही बाटोमा डोर्याउनु पर्ने दायित्व औंल्याएका थिए । यादव समुदायले आफ्नो वीर इतिहास र स्वाभिमान जोगाउन सफल भए पनि अबको लडाईं शैक्षिक र आर्थिक रूपान्तरणका लागि हुनुपर्नेमा उनले जोड दिएका छन् ।
आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने घोषणा केन्द्रले आगामी दिनमा सामाजिक कार्यहरूलाई थप व्यापक बनाउने नीति लिएको छ। जसअन्तर्गत उच्च शिक्षा हासिल गर्न चाहने तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई संस्थागत रूपमा सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गरिएको छ ।
रक्तदान र नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने
आगामी कार्ययोजनाबारे जानकारी दिँदै संस्थाले निकट भविष्यमै बृहत रक्तदान कार्यक्रम र सर्वसाधारणका लागि नि:शुल्क स्वास्थ्य शिविर (Health Camp) सञ्चालन गर्न लागेको जानकारी दिएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै समाजका हरेक वर्गलाई बलियो बनाउन यस्ता रचनात्मक कार्यक्रम निरन्तर गरिने जनाइएको छ ।
महाधिवेशनले विधानको परिधिभित्र रही संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व तथा कार्यसमिति चयन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, यादव समाजका अगुवा, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।