ब्रेकिङ न्यूजको होडबाजीभन्दा सत्यतथ्य र विश्वसनीय समाचारमा जोड दिऔँ: एसपी जि.सी.

व्यावसायिक पत्रकारको सुरक्षाका लागि बाँके प्रहरी कटिबद्ध छ

शाख न्यूज    प्रकाशित: २०८३-२-९ गते   ६४५ पटक हेरिएको

प्रेम सिंह 
बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक (SP) अङ्गुर जि.सी.ले सञ्चार क्षेत्रमा बढ्दै गएको 'ब्रेकिङ न्यूज' को तीव्र होडबाजीले कहिलेकाहीँ समाजमा भ्रम फैलाउने जोखिम रहने औँल्याएका छन् । हतारमा समाचार सम्प्रेषण गर्नुभन्दा अगाडि पत्रकारहरूले पर्याप्त खोज, अनुसन्धान र सत्यतथ्यको जाँच गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा आयोजित १५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रहरी प्रमुख जि.सी.ले भने, "हतारमा गलत सूचना बाहिर जाँदा नागरिकमा भ्रम सिर्जना हुन्छ, त्यसैले समाजमा गलत धारणा बस्न गई शान्ति सुरक्षा कायम गर्न समेत गम्भीर चुनौती थपिने गरेका उदाहरणहरू हामीले भोगेका छौँ ।"

प्रहरी उपरीक्षक जि.सी.ले व्यावसायिक र मर्यादित पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको सुरक्षाका लागि बाँके प्रहरी सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
"आफ्नो व्यावसायिक धर्म र कर्तव्य निर्वाह गर्ने क्रममा पत्रकार साथीहरूले कुनै पनि प्रकारको असुरक्षा महसुस गर्नु पर्दैन," उनले भने, "सत्यको पक्षमा उभिने पत्रकारहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गराउन बाँके प्रहरी दृढताका साथ लागिपर्नेछ ।"

समारोहमा बोल्दै प्रहरी उपरीक्षक जि.सी.ले व्यावसायिक धर्म निर्वाह गर्ने क्रममा पत्रकारहरूले कुनै पनि प्रकारको असुरक्षा महसुस गर्नु नपर्ने र प्रहरीले पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता समेत जनाएका छन्।

समाजका हरेक क्षेत्रमा केही न केही कमि कमजोरीहरू हुनेभएकाले स्वीकार गर्दै प्रहरी संगठनभित्र पनि सबै कुरा शतप्रतिशत सही नभएको प्रष्ट पारेका छन् । उनले भने,- "हामी प्रहरी पनि सबै राम्रा छैनौँ, हाम्रा मान्छेहरूबाट पनि कतिपय गल्ती र कमजोरीहरू भएका हुन्छन् । तर अन्य क्षेत्रको तुलनामा पत्रकारिता जगत् जनउत्तरदायी र बढी संवेदनशील भएकाले यस क्षेत्रमा आबद्ध सबैले आ-आफ्नो व्यावसायिकतालाई आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ ।" जोखिमपूर्ण र संवेदनशील क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई थप प्रोत्साहित गर्न आगामी दिनमा विशेष पुरस्कारको व्यवस्था गर्नुपर्नेमा समेत उनले  जोड दिएका छन्  ।

यसै क्रममा उनले संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पत्रकारहरूलाई थप हौसला प्रदान गर्न आगामी दिनमा विशेष पुरस्कार तथा सम्मानको व्यवस्था गरिनुपर्ने धारणा समेत राखेका थिए । प्रहरी उपरीक्षक जि.सी.ले पत्रकारिता क्षेत्र अत्यन्तै संवेदनशील भएको उल्लेख गर्दै हतारमा 'ब्रेकिङ न्यूज' सम्प्रेषण गर्ने होडबाजीभन्दा पनि पर्याप्त अनुसन्धान र सत्यतथ्य जाँच गरेर मात्र समाचार लेख्न आग्रह गरेका छन्  ।

"गलत वा भ्रमपूर्ण सूचनाले समाजमा नकारात्मक धारणा बन्ने र कतिपय अवस्थामा सुरक्षामा समेत गम्भीर चुनौती आउन सक्ने भएकाले कलम चलाउँदा पटकपटक  सोचेर, रिसर्च गरेर मात्र समाचार बाहिर ल्याउन आवश्यक छ," प्रहरी उपरीक्षक जि.सि ले जानकारी दिएका छन् ।

उनले भने, "तर पत्रकारिता जगतले जनतालाई सूचित गराउने ठूलो जिम्मेवारी बोकेकाले यस क्षेत्रमा अझ बढी संवेदनशीलता आवश्यक पर्दछ ।" बाँके जिल्ला प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेको करिब आठ महिना पुगेको स्मरण गर्दै  उनले यहाँका पत्रकारहरू न्याय र सत्कर्मको पक्षमा रहेको आफूले पाएको बताएका छन् । उनले जनतालाई सुसूचित गराउने ठूलो जिम्मेवारी बोकेका पत्रकारहरूलाई आगामी दिनमा थप सशक्त र मर्यादित ढंगले अघि बढ्न शुभकामना समेत दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech