भेरी अस्पतालमा डा.निराजन सुवेदीको १९ महिनाः के–के गरे ?

शाख न्यूज    प्रकाशित: २०८३-१-३० गते   ३७२ पटक हेरिएको


प्रियास्मृति ढकाल (स्वास्थ्य पेज डटकम)

बाँके - पश्चिम नेपालका लाखौं नागरिकको भरोसाको केन्द्रका रुपमा रहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) फेरिएका छन् । कार्यालय प्रमुख फेरिनु सामान्य र नियमित प्रक्रिया हो । तर करिव १९ महिनाको कार्यकाल पूरा गरेर डा.निराजन सुवेदी आफ्नो दरवन्दी भएकै स्थान वीर अस्पताल फर्किएका छन् ।

उनलाई २०८१ साल असोज ९ गते स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिएर भेरी अस्पतालमा खटाएको थियो । पछिल्लो एक दशकमा भेरी अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको ‘समय’ कार्यकाल हेर्ने हो भने डा.सुवेदी दोस्रो स्थानमा पर्छन् । २०७३ साल मंसिर २८ गतेदेखि २०७५ साल असोज ५ गतेसम्म डा.विरेन्द्र बहादुर चन्दले मेसु चलाएका थिए । उनले २६ महिना १६ दिन मेसु चलाए । त्यसपछि ८ वर्षको अवधिमा ८ पटक मेसु फेरिए ।

डा.रुपानन्द अधिकारी, डा.बद्री चापागाइँ, डा.पवन रायमाझी, डा. प्रकाश थापा । यो अवधिमा डा.चन्द र डा.थापाले दुई–दुई पटक मेसु चलाए । चरम राजनीतिकरणका कारण उनीहरुले वर्ष दिन पनि मेसु चलाउन पाएनन् । तर डा. सुवेदीले १९ महिना २० दिन मेसुको भूमिका निर्वाह गरे । डेढ वर्ष बढी समय भेरीको नेतृत्व सम्हालेका डा.निराजन विवादरहित बने ।

प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट सर्जन डा.निराजन कुसल सर्जन त हुन् नै उनले आफुलाई कुशल प्रशासकमा पनि अब्बल सावित गरेका छन् । भेरी अस्पतालमा उनको यो पहिलो प्रशासकीय भूमिका हो । डा. निराजन ११औँ तहका चिकित्सक हुन् । भेरी अस्पताल मा उनीभन्दा सिनियर तथा मेसुको जिम्मेवारी सम्हालिसकेका अनुभवी चिकित्सकहरू पनि धेरै थिए । तर, आफ्नो कार्यकालमा उनले सबैलाई समन्वय र सहकार्यमा राखेर अघि बढे ।

साथै, अस्पतालको सेवा विस्तार, व्यवस्थापन सुधार तथा समग्र श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरे । डा. निराजनको नेतृत्वमा भेरी अस्पतालको स्वास्थ्य सेवा विस्तार, शैक्षिक विकास तथा विशिष्टीकृत उपचार सेवामा उल्लेखनीय फड्को मारेको छ ।

सीमित स्रोत र बढ्दो बिरामी चापका बीच अस्पतालले छोटो अवधिमै विशिष्टीकृत सेवा विस्तार, नयाँ वार्ड स्थापना, शैक्षिक कार्यक्रम सञ्चालन तथा जटिल उपचार सेवामा ऐतिहासिक उपलब्धि हासिल गरेको देखिन्छ । विशेषगरी सिकल सेल रोग, मिर्गौला रोग, सुरक्षित मातृत्व, शल्य सेवा तथा नवजात शिशु उपचार क्षेत्रमा अस्पतालले फड्को मारेको छ ।

पछिल्लो डेढ वर्षमा के के भए ?

१ सिकल सेल रोगसम्बन्धी सेवा विस्तार

– रगत चढाउने (ब्लड ट्रान्सफ्युजन) सेवाको सुदृढीकरणका लागि ६ शैय्याको डे-केयर इकाई स्थापना गरिएको ।

-सिकल सेल रोग तथा अन्य हेमोग्लोबिनोप्याथीहरूको व्यवस्थापनका लागि १० शैय्याको विशिष्टीकृत वार्ड सञ्चालनमा ल्याइएको ।

-सिकल सेल रोग तथा थालासेमियाको नवजात शिशु स्क्रिनिङ सेवा प्रारम्भ गरिएको, जुन हाल नेपालमै एकमात्र उपलब्ध सेवा हो ।

२. दीर्घकालीन मिर्गौला रोग (CKD) सम्बन्धी सेवा सुदृढीकर

– गैर-सिरोपोजिटिभ बिरामीका लागि डायलाइसिस सेवा ६ मेसिनबाट १० मेसिनमा विस्तार गरी दैनिक थप १२ जना बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरिएको।

– सिरोपोजिटिभ बिरामीका लागि छुट्टै २ वटा डायलाइसिस मेसिन जडान गरी सेवा सुनिश्चित गरिएको।

– पेरिटोनियल डायलाइसिस तथा सिरोपोजिटिभ सेवा स्वास्थ्य सेवा विभागअन्तर्गतको विपन्न नागरिक उपचार कार्यक्रममार्फत दर्ता गरिएको।

-पेरिटोनियल डायलाइसिस सेवा विधिवत रूपमा सञ्चालनमा ल्याइएको।

– मिर्गौला प्रत्यारोपण सेवाका लागि आवश्यक आधिकारिक इजाजतपत्र प्राप्त गरिएको।

-लुम्बिनी प्रदेशमै पहिलोपटक २ वटा सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको।

-मिर्गौला प्रत्यारोपण सेवा विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत समावेश गरी प्रति बिरामी अधिकतम ७ लाख रुपैयाँसम्म निःशुल्क उपचार सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको।

३. सुरक्षित मातृत्व तथा प्रसूति सेवा सुदृढीकरण

-प्रसूति तथा स्त्रीरोग शल्यक्रिया सेवाको क्षमता दैनिक २ बाट ४ मा वृद्धि गरिएको।

– Postoperative ward (प्रसूति) ६ शैय्याबाट १२ शैय्यामा विस्तार गरिएको।

– सिजेरियन पश्चात् वार्डमा थप १८ शैय्या विस्तार गरिएको।

४. शल्य सेवा विस्तार तथा गुणस्तर अभिवृद्धि

-४ टेबल क्षमताको अत्याधुनिक अपरेशन थियेटर सञ्चालनमा ल्याइएको।

-General Postoperative Ward तथा अर्थोपेडिक्सका लागि छुट्टाछुट्टै ८/८ शैय्याका पोस्ट-अपरेटिभ वार्ड स्थापना गरिएको।

– अर्थोपेडिक आर्थ्रोस्कोपिक शल्यक्रिया तथा एन्डोस्कोपिक स्पाइन शल्यक्रिया सेवा प्रारम्भ गरिएको।

५. शैक्षिक तथा संस्थागत विकास

-राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) सँग समझदारी पत्र (MoU) सम्पन्न गरिएको।

-कन्सल्टेन्ट चिकित्सकहरूका लागि शैक्षिक (फ्याकल्टी) पदहरूको सिर्जना गरिएको।

-योग्य कन्सल्टेन्ट चिकित्सकहरूलाई सम्बन्धित फ्याकल्टी पदमा नियुक्ति प्रदान गरिएको।

-सर्जरी, मेडिसिन, अर्थोपेडिक्स तथा स्त्रीरोग विषयमा स्नातकोत्तर (पोस्टग्राजुएट) रेजिडेन्सी कार्यक्रम सञ्चालनमा ल्याइएको।

-NAMS सँगको सहकार्यमा “Faculty Development Program” सञ्चालन गरिएको।

-भेरी अस्पताललाई NHTC अन्तर्गत मेडिको–लिगल तालिम केन्द्रका रूपमा दर्ता गरी तालिम कार्यक्रम सञ्चालन प्रारम्भ गरिएको।

६. अन्य सेवा विस्तार तथा पूर्वाधार सुदृढीकरण

– ज्येष्ठ नागरिकहरूको उपचार आवश्यकतालाई सम्बोधन गर्न १० शैय्याको जेरियाट्रिक वार्ड स्थापना गरिएको।

-जलेका बिरामीहरूको उपचार तथा व्यवस्थापनका लागि ६ शैय्याको बर्न वार्ड स्थापना गरिएको।

-युरोलोजी तथा ENT सेवाका लागि १० शैय्याको विशेष वार्ड स्थापना गरिएको।

-पूर्व विद्यमान १० शैय्याको सामान्य ICU लाई पुनर्संरचना गरी ६ शैय्याको मेडिकल ICU र ६ शैय्याको सर्जिकल ICU मा स्तरोन्नति गरिएको।

-अल्ट्रासोनोग्राफी (USG) सेवा बिहान ७:०० बजेबाट सुरु हुने गरी विस्तार गरिएको तथा यस सेवामा बिरामीलाई कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको।

-भेरी अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विधिवत रूपमा सञ्चालनमा ल्याइएको।

-बिपन्न कार्यक्रमअन्तर्गत मिर्गौला प्रत्यारोपण, पेरिटोनियल डायलाइसिस, सेरो पोजिटिभ डायलाइसिस, पार्किन्सोनिज्म तथा अल्जाइमर्स रोग थप गरिएको छ। यससँगै बिपन्न कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका रोगहरूको संख्या ११ पुगेको छ, जुन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमध्ये सबैभन्दा बढी हो।

कार्यान्वयन चरणमा रहेका योजनाहरु

१. नवजात शिशु सघन उपचार कक्ष (NICU) विस्तार
हाल सञ्चालनमा रहेका ८ शैय्याका NICU सेवालाई विस्तार गरी चालु आर्थिक वर्षको अन्त्यसम्म २० शैय्यामा पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ। यस प्रयोजनका लागि लुम्बिनी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ । SNCU/NICU विस्तारका लागि आवश्यक जनशक्ति व्यवस्थापन सम्पन्न भइसकेको छ ।

NICU बेड खरिदका लागि टेण्डर सम्झौता सम्पन्न भइसकेको छ र ती ४५ दिनभित्र प्राप्त हुनेछन् । त्यसैले चालु आर्थिक वर्षको अन्त्यसम्म भेन्टिलेटर सेवासहित २० शैयाको NICU सेवा सञ्चालनमा ल्याइनेछ।

२. प्रसूति पश्चात् (PNC) वार्ड विस्तार तथा स्थानान्तरण
PNC वार्डलाई पुरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण गर्ने कार्य अन्तिम चरणमा। साथै, १५ शैय्या थप गरी सेवाको क्षमता अभिवृद्धि गरिनेछ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech