मृतक चुनाराको परिवारलाई नगर प्रमुख लिम्बुको पहलमा आर्थिक सहयोग हस्तान्तरण

शाख न्यूज    प्रकाशित: २०८३-१-२४ गते   ४९२ पटक हेरिएको

कंचनपुर -  दोधारा चाँदनी नगरपालिकामा प्रमुख किशोर कुमार लिम्बुको पहलमा टिप्परको ठक्करबाट मृत्यु भएका १५ वर्षिय वालक दिवस चुनाराको परिवारजनलाई नगद रकम हस्तान्तरण गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १ स्याली बजार नजिक गत १८ गते टिप्परको ठक्करबाट मृत्यु भएका वालक दिवस चुनाराको परिवारजनलाई नगद ३० हजार रकम हस्तान्तरण गरिएको हो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख लिम्बुको पहलमा दोधारा चाँदनीमा रहेको संस्थागत बिद्यालयको संगठन निजी बिद्यालय क्षेत्रिय समितिले पिडित परिवारजनलाई रकम हस्तान्तरण गरिएको निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका अध्यक्ष अर्जुन सिंह कुँवरले जानकारी दिएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख लिम्बु, निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका अध्यक्ष कुँवर, नेकपा एमालेका नेता सरोज चन्द तथा मृतक चुनाराका घरपरिवार लगायतको उपस्थिती रहेको थियो । निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका पुर्व अध्यक्ष तथा नगर प्रमुख लिम्बुले पिडित परिवार संग भेट गरि वालक दिवस चुनाराको मृत्यु भएकोमा आफु स्तब्ध भएको बताउदै आगामी दिनहरुमा समेत आफुले गर्न सक्ने र नगरबाट हुने सहयोगमा पछि नहट्ने बताएका छन् ।

आर्थिक अवस्था कमजोर रहेको मृतक चुनाराको घरपरिवारले पिडामा सहयोग गर्नुभएको भन्दै नगर प्रमुख र निजी बिद्यालय क्षेत्रिय समिति दोधारा चाँदनीका सम्पुर्ण टोलीलाई धन्यबाद ज्ञापन गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech