नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आज वडा कार्यालयमा भएको पत्रकार सम्मेलनमा क्रिकेट प्रतियोगिताका बारेमा जानकारी गराइएको हो । स्वास्थ्य, मनोरञ्जनसँगै समाजलाई जोड्न र स्थानीय खेलाडीहरुको प्रतिभा, क्षमतालाई उजागर गर्न ५ नम्बर वडा कार्यालयले क्रिकेट प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष शराफत हुसैन शेषले जानकारी दिए । उनका अनुसार क्रिकेट प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद मो. इस्तियाक राईले गर्नेछन् ।
यही वैशाख ६ गतेदेखि सुरु हुने क्रिकेट प्रतियोगिता वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । करीब ३० वटा टिम सहभागी हुने क्रिकेट प्रतियोगिता नेपालगञ्ज फुल्टेक्रास्थित विद्युत कार्यालय नजिकको खेलमैदानमा हुनेछ । रोयल स्पोर्ट्स क्लव नेपालगञ्ज बाँकेले सहयोग गरेको प्रतियोगितामा कुल ७ देखि ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले १ लाख ५० हजार रुपैयाँ, ५ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट व्यवस्था गर्नेछ भने बाँकी विभिन्न प्रायोजक, खेलप्रेमी व्यक्ति, संस्थाहरुबाट खर्च व्यवस्थापन गरिने जनाइएको छ ।
क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ, दोस्रो पुरस्कार ५० हजार रुपैयाँसहित विभिन्न विधामा थप पुरस्कारसहित सम्मान पनि राखिएको छ । पत्रकार सम्मेलनमा वडा सदस्य शान्ति पासी, वडा सचिव महेश कुमार यादव र विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।