होटल पौवाले मानव सेवा आश्रममा खाना खुवाएर मनायो १० औं स्थापना दिवस

शाख न्यूज    प्रकाशित: २०८२-१२-२५ गते   ८७ पटक हेरिएको

नेपालगन्ज -  १० औं स्थापना दिवसलाई होटल पौवाले मानव सेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना खुवाएर मनाएको छ । मानव सेवा आश्रम नेपालगन्जमा आश्रितहरुलाई खाना खुवाएर पौवाको नेपालगन्ज शाखाले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । आश्रय बिहिनहरुका लागि ठूलो योगदान गरिरहेको मानव सेवा आश्रमको अभियानमा थोरै भए पनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको उनले बताए ।

अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए । पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानव सेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आशिर्वाद प्राप्त गर्न पाउँदा पौवा टिमलाई खुसी लागेको बताए ।

ग्राहकहरुलाई उत्कृष्ट खाना खुवाएर पटक पटक सरकारबाट उत्कृष्ट र स्वस्थकर खानाको उपाधि पाएको पौवाको तर्फबाट आश्रममा आश्रितहरुलाई स्वस्थ र फरक स्वाद दिन स्थापना दिवसमा खाना खुवाउने कार्यक्रम राखिएको उनले बताए । मानवसेवा आश्रम नेपालगन्जकी सह-संयोजक विष्णु घर्तीले पौवाले स्थापना दिवसमा मानव सेवा आश्रममा आश्रितहरुलाई खाना प्रदान गर्ने कार्यक्रम राखेकोमा साधुवाद प्रकट गरिन् ।

आश्रममा आश्रित ८० आश्रयकर्तासहित सेवामा खटिने स्वयंसेवकहरुलाई पौवाले आज बिहानको खाना प्रदान गरेको हो । खाना वितरण गर्न पौवा नेपालगन्जका शाखा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शेयर सदस्य झबिन्द्र मरासिनी, शरण कर्माचार्य, वरिष्ठ शेफ दीपक भण्डारी लगायत पौवाका कर्मचारीहरु मानव सेवा आश्रम पुगेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech