विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्जमा अन्तरक्रिया

शाख न्यूज    प्रकाशित: २०८२-१२-१ गते   ३३४ पटक हेरिएको

नेपालगन्ज - “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस २०८२ को अवसरमा सरोकारवाला पक्ष तथा उपभोक्तासँग नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँकेको आयोजनामा भएको कार्यक्रम कार्यालय प्रमुख सुशिला चलाउने विष्टको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कार्यालयका निमित्त प्रमुख चलाउनेले चालू आर्थिक वर्षमा कार्यालयले गरेका गतिविधिबारे प्रस्तुतिकरण गर्दै कार्यालयको कार्य क्षेत्र लुम्बिनी प्रदेशका ६ जिल्ला र कर्णाली प्रदेशका १० जिल्ला गरी १६ जिल्ला रहेको जानकारी दिइन् । उनका अनुसार यस अवधिमा ४ सय ६२ वटा फर्ममा बजार अनुगमन गरिएको छ भने हालसम्म १७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । अनुगमनका क्रममा नियम विपरीत कार्य गर्ने व्यवसायीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको उनले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले उपभोक्ता अधिकारको संरक्षणका लागि सरकारी निकाय, व्यवसायी र उपभोक्ता सबै जिम्मेवार हुनुपर्ने बताए । उनले बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न नियमित अनुगमन, जनचेतना र उपभोक्ताको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे । यस्ता कार्यक्रमलाई औपचारिकता मात्र सीमित नराखी ग्रामीण तहसम्म लैजानुपर्नेमा उनको जोड छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले उपभोक्ता अधिकार संरक्षणका विषयमा सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले बजारमा देखिने विकृति र अनियमितता उजागर गर्दै उपभोक्ताको हितमा पत्रकारिता निरन्तर सक्रिय रहने धारणा राखे । उनले सबै व्यवहारबादी बन्नुपर्नेमा जोड दिँदै उपभोक्तामा हुनुपर्ने सचेतना र नियमनकारी निकायको भूमिका बढाउनुपर्नेमा जोड दिए । अनुगमन र नियमन त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव वसन्त गौतमले उपभोक्तालाई सचेत र विवेकशील बनाउन सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले बजारमा गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न राज्यले कडा नियमन गर्नुका साथै उपभोक्ता पनि आफ्नो अधिकारबारे सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष सुरेश गौतम, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी सुपरभाइजर दिनेशराज न्यौपानेले पनि धारणा राखेका थिए । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लेखापाल नरेन्द्र विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन लोकेन्द्र बिसीले गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech