राप्ती नदीको कटान रोक्न पक्की र दीर्घकालीन तटबन्ध निर्माण योजनालाई निरन्तरता दिनेछु - उम्मेदवार कृष्णा के.सि.(नमुना)

शाख न्यूज    प्रकाशित: २०८२-११-११ गते   २०३ पटक हेरिएको

बाँके - आगामी प्रतिनिधि सभा सदस्य  निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपाल बीच बाँके जिल्लामा चुनावी तालमेल गरि एकअर्कालाई सघाउने सहमति समेत भएको छ । बाँके क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएकी कृष्णा केसि ( नमुना ) ले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिबद्धता पत्र सार्बजनिक गरेकी थिइन् । सशक्त महिला नेतृ कृष्णा केसि (नमुना) ले  घरदैलो अभियानमार्फत प्रत्येक घर घरमा पुगेर जनताको समस्या सुन्दै आएकी छिन्  । उनले स्थानीय आवश्यकता अनुसार काम गर्ने अनि सरल भाषामा आफ्ना एजेन्डा र बिचार प्रस्तुत गर्दै मतदताको मन जितिरहेकी छिन् ।  इमान्दार प्रयास र स्पष्ट दृष्टिकोणले विजय सुनिश्चित गर्ने विश्वास रहेको उनले बताइन् । 

कोहलपुरलाई कैलाश मानसरोवर यात्राको ट्रान्जिट हबको रुपमा बिकास गरि स्थानीय पर्यटनको रोजगारी सिर्जना गरिने कोहलपुरमा निर्माणाधीन डाटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गरी पश्चिम नेपालका सबै सरकारी कार्यालय र निजी संस्थाहरूको डाटा भण्डारण कोहलपुरमा गर्ने वातावरण मिलाइने, बागेश्वरी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि पहल गरिने , कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई छिटोभन्दा छिटो सम्पन्न गरी कोहलपुरलाई ! खेलकुद पर्यटन ! को केन्द्र बनाउने, कोहलपुर शीत भन्डारको क्षमता अभिवृद्धि गरिने, कोहलपुरमा बिज्ञान संग्रहालय (science museum) स्थापना गरिने,  कोहलपुर चौराहको ट्राफिक जाम अन्त्य गर्न नयाँ बसपार्कलाई थप अत्याधुनिक र सुविधासम्पन्न बनाइने, कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता लाई खेलकुद मन्त्रालयको बार्षिक कार्यक्रममा राखिने उल्लेख गरिएको छ । 

राप्तिसोनारीको क्षेत्रमा बाढी आउनु पुर्व स्थानीयलाई सचेत गराउन ! डिजिटल साइरन ! र मोबाइल अलर्ट प्रणालीलाई प्रभावकारी बनाइने, बाँके रास्ट्रीय निकुञ्ज र गाउँपालिकाबीचको द्वन्द्व (वन्यजन्तुको आक्रमण) न्यूनीकरण गर्न ! मेस वायर ! (तारबार) लगाउने र निकुञ्जलाई आर्थिक उपार्जनको स्रोत बनाउन विशेष कार्यक्रम सन्चालन गरिने, राप्ती सोनारीमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचान गरी जग्गाको स्वामित्व दिलाइने, सिक्टा सिँचाइको बाँध क्षेत्रलाई (highway tourism destination) राजमार्ग पर्यटकीय गन्तव्यको रूपमा थप व्यवस्थित गरिने, सिक्टाको नहरका साथै थप शाखा नहरहरु निर्माण गरी राप्ती सोनारीका सबै खेतीयोग्य जमिनमा पानी पुऱ्याइनेछ लगायतका योजनाहरु प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

विशेष गरी मधेसी मुस्लिम समुदायका छात्राहरूलाई विद्यालय ल्याउन "छोरी पढाओं घर उज्यालो बनाऔं" कार्यक्रमलाई प्रभावकारी बनाउने र मदरसाहरूको आधुनिकीकरण गर्ने नितिगत योजना निर्माण गरिने,
नरैनापुर बाँकी रहेका भित्री बस्तीहरूमा हुलाकी सडकका अन्य ससाना मार्गहरू कालोपत्रे गरिने, नरैनापुरको उत्पादनलाई नेपालगन्जसम्म पुऱ्याउन कृषि एम्बुलेन्स र संकलन केनको व्यवस्था गरिनेछ, नरैनापुर विकट क्षेत्र भएकाले आकस्मिक स्वास्थ्य सेवा र सुत्केरी महिलाका लागि पालिका अस्पताललाई विशेषज्ञ सहितको सुविधायुक्त अस्पताल र एम्बुलेन्सको ग्यारेन्टी गरिने, नरैनापुरदेखि सन्तानेश्वर मन्दिर सम्म पुग्ने बाहै महिना चल्ने सडकको ब्यवस्था गरिने, साथै कठिन ठाउँमा ! केबलकार! को सम्भाव्यता अध्ययनलाई प्रमुख एजेन्डामा राखिने, ऐतिहासिक र आध्यात्मिक महत्व झल्काउने डकुमेन्ट्री र वेबसाइट बनाएर रास्ट्रीय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने, सन्तानेश्वर र बर्फानी बाबा सम्म टेलिफोन र high speed internet को ब्यवस्था गरिने, नरैनापुरमा डिप बोरिङको बितरण र विस्तार तथा राप्ती नदीको पानीलाई नहरमार्फत नरैनापुरसम्म ल्याउने दीर्घकालीन योजना ल्याइने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

दुवै दलका जिल्ला नेतृत्वबीच भएको छलफलपछि साझा उम्मेदवार बाँके क्षेत्र नं २ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईलाई र बाँके क्षेत्र नं १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार कृष्णा के.सी. नमुनालाई सघाउने सहमति भएको हो ।   चुनावी अभियान संयुक्त रूपमा सञ्चालन गर्ने तथा मत विभाजन रोक्दै चुनावी परिणामलाई आफ्नो पक्षमा पार्ने उद्देश्यले तालमेल गरिएको जनाइएको छ।

सहमति अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन  क्षेत्रमा आपसी समझदारीका आधारमा कुनै धोका नदिई सहयोग गर्ने जनाइएको छ । साथै विकास, सुशासन, सामाजिक न्याय र क्षेत्रीय अधिकारका मुद्दालाई साझा एजेन्डा बनाउँदै संयुक्त प्रचार–प्रसार गर्ने निर्णय पनि गरिएको नेताहरूले बताएका छन्। नेतृत्वका अनुसार तालमेलले साना तथा मध्यम दलबीच सहकार्यको सन्देश दिने र बाँकेमा वैकल्पिक राजनीतिक शक्तिको उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ। स्थानीय तहका कार्यकर्ता र समर्थकलाई पनि साझा अभियानमा सक्रिय बनाउन दुवै दलका नेता तथा कार्यकर्ताले  आह्वान गरेका छन्।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech