सद्भाव र समावेशी विकासको एजेण्डा लिएर इस्तियाक राई मतदातामाझ

शाख न्यूज    प्रकाशित: २०८२-११-१० गते   ३३३ पटक हेरिएको

नेपालगञ्ज १० फागुन - बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले समुदायगत विविधतालाई नै क्षेत्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै विकास, एकता र राजनीतिक सशक्तिकरणको पक्षमा मतदातासँग अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका राईले नेपालगञ्ज र डुडुवाको सामाजिक संरचना बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भए पनि त्यही विविधता भित्रको एकताले क्षेत्रलाई बाँधेर राखेको बताएका छन् । उनका अनुसार “खुसहाल जीवनको साझा चाहनाले हामीलाई जोडेको छ, अब यही भावनालाई नीतिगत सुधार र तीव्र विकाससँग जोड्नुपर्ने समय आएको छ।”

राईले विशेषगरी नेपालगञ्ज र डुडुवा गाउँपालिका मा पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सृजना र कानुनी तथा नीतिगत सुधारमार्फत समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले  क्षेत्रको राजनीति सशक्त र प्रभावशाली हुँदा मात्र केन्द्रीय तहमा पहुँच बलियो हुने र त्यसबाट ठोस उपलब्धि हासिल गर्न सकिने धारणा राखेका छन् ।

उनले  विगतमा केन्द्रीय सत्तामा यहाँका प्रतिनिधिको प्रभाव र पहुँच हुँदा प्राप्त विकासका उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यसबाट सिक्दै अब अझ संगठित ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

यसैबीच राईले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई “विकास र राष्ट्रियता प्रवर्द्धन गर्ने शक्तिहरू तथा सम्प्रदायिकता र अन्तरपुस्ता द्वन्द बढाउन खोज्ने तत्वहरूबीचको वैचारिक लडाइँ” का रूपमा चित्रित गरेका छन् । उनका अनुसार क्षेत्रको सद्भाव, सहिष्णुता र अन्तरपुस्ता सम्मानलाई कमजोर पार्ने षड्यन्त्रहरू सक्रिय हुन खोजिरहेको अवस्था देखिएको छ, जसप्रति मतदाता सचेत रहनुपर्ने समय आएको छ।

“बाँके–२ ले विगतमा पनि विभाजनकारी गतिविधि नाकाम पार्दै एकताको उदाहरणीय इतिहास रचेको छ,” राईको भनाइ छ, “अब फागुन २१ गतेको निर्वाचनमार्फत विकास, एकता र सद्भावको पक्षमा पुनः इतिहास रच्नुपर्नेछ।”
उनले मतदातालाई अन्तर आत्माको आवाज सुनेर विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै समावेशी विकासको अवधारणा अनुसार बाँके–२ लाई समृद्ध र खुसहाल क्षेत्र बनाउने आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यसैगरि चुनावी अभियानलाई तीव्रता दिँदै मोहम्मद इश्तियाक राईले प्युठानी सेवा समाजका पदाधिकारी तथा सदस्यहरूसँग भेटघाट तथा छलफल गरेका छन् । उम्मेदवार राईले आफ्नो पुर्ख्यौली घर प्युठान भई हाल नेपालगन्जमा बसोबास गर्दै आएका समाजका अग्रज तथा सदस्यहरूसँग समसामयिक राजनीतिक अवस्था, विकास निर्माणका योजना र समुदायका आवश्यकताबारे विचार आदानप्रदान गरेका छन् ।

भेटघाटका क्रममा सहभागीहरूले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका विषयमा आफ्ना सुझाव राखेका थिए। उम्मेदवार राईले प्राप्त सुझावलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा समाजका पदाधिकारीहरूले आगामी निर्वाचनमा आफ्नो भूमिका र सहयोगबारे पनि छलफल गरेका थिए।

आगामी प्रतिनिधि सभा निर्वाचनसँगै बाँके–२ मा चुनावी माहोल थप तातेको छ। विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा मतदाताको निर्णयले क्षेत्रको आगामी राजनीतिक दिशा र विकासको गति निर्धारण गर्नेछ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech