सुविधासम्पन्न अस्पताल निर्माण, बाढी र डुबानको समस्या समाधानकालागि पहल गर्ने - उम्मेदवार राई

शाख न्यूज    प्रकाशित: २०८२-११-६ गते   २०५ पटक हेरिएको

बाँके - नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई आज डुडुवा क्षेत्रमा चुनावी कार्यक्रमहरूमा सहभागी भएका छन् । आज  बिहान ८ बजेदेखि डुडुवामा राईको घरदैलो र कोणसभा चलिरहेको छ।

डुडुवा- २ बाट आज विहान चुनावी प्रचार-प्रसचार सुरु गरेका राईले दिउँसोदेखि घरदैलो गरिरहेका छन् । आज वडा नं २ का मतदाताहरूको घरघरै पुगेर राईले आफ्ना चुनावी एजेन्डाहरू प्रस्तुत गरेका थिए । राइले डुडुवामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, दक्ष जनशक्तिको व्यवस्था गर्ने, बाढी र डुबानको समस्या समाधानका लागि  प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाढी र डुबान नियन्त्रण गर्न  डुडुवा १ र २ नम्बर वडा चौफेरी र पाझामा राप्ती नदीमा तथा डुडुवा खोलाका आवश्यक ठाउँहरूमा पक्की तटबन्ध निर्माण गर्ने राईले प्रतिबद्धतापत्र मार्फत घोषणा गरिसकेका छन् । त्यस्तै वेतहनी-होलिया-चौफेरी-नरैनापुर जोड्ने सडक र त्यहाँ आवश्यक पर्ने पुलहरू निर्माण गर्न आफूले पहल गर्ने पनि उम्मेदवार राईको प्रतिबद्धता छ।

डुडुवा लगायत पालिकास्तरमा रहेका १५ शैयाको अस्पताल र स्वास्थ्य चौकीहरूलाई सुविधासम्पन्न बनाउँदै प्रसुति सेवा सुरु गर्न आफू क्रियाशील हुने राईको भनाई छ।

यसैबीच नेपाली कांग्रेसका नेता एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीको टोल सन्तलियाका दर्जनौं युवाहरू आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका युवाहरूलाई उम्मेदवार राई लगायतले स्वागत गरेका थिए ।

उम्मेदवार राईले आजै साँझ नेपालगन्जको वडा नं ७ प्रगति मार्गमा कोणसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech