कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा

शाख न्यूज    प्रकाशित: २०८२-११-१ गते   २४३ पटक हेरिएको

बाँके (डुडुवा) १ फागुन - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर - २ का उम्मेदवार शुधान्सु कोइरालासँग डुडुवा गाउँपालिका क्षेत्रका सर्बसाधारण नागरिकले विभिन्न आशा र अपेक्षा राखेका छन् । 

बाँके, क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पूर्वबाढी गाउँमा शुक्रबार(आज) मतदाता भेटघाट गर्न पुगेका उम्मेदवार कोइरालासँग सर्बसाधारण नागरिकले बर्खायाममा हुने डुबान, कटान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । 

यस्तै उनीहरुले किसानका लागि आवश्यक पर्ने सिंचाइँ, मल, बीउ समयमै उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध पनि गरेका छन् । मतदाता भेटघाटका क्रममा उक्त गाउँका स्थानीय बासिन्दाले उम्मेदवार कोइरालालाई घर–घरमा स्वागत गर्दै जितको अग्रिम शुभकामना दिएका थिए । 

मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले स्थानीय बासिन्दाले उठाएका मागलाई आफु निर्वाचित भएपछि सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । ‘मलाई अहिले निर्वाचित गराएर पठाउनुस्, म निर्वाचित भएर गएपछि तपाईले उठाएका मागहरु सम्बोधन गर्नका लागि आवश्यक पहल गर्नेछु,’ उनले भने, ‘म अहिले जस्तो छु, भोलि सांसद भएपछि पनि यस्तै तपाईहरुसँगै सर–सल्लाह गरेर अगाडी बढ्नेछु । 

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech