हामी बद्लिँदै गर्दा कांग्रेसको कार्यक्रम अब परफेक्ट खालको देखिनुपर्यो - उपसभापति शर्मा

शाख न्यूज    प्रकाशित: २०८२-१०-२७ गते   ४२५ पटक हेरिएको

नेपालगन्ज २७ माघ - नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगञ्जमा आयोजना गरेको बृहत जिल्ला भेलाका प्रमुख अतिथि उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै नयाँ बनेर जनतामाझ आएको जानकारी दिएका छन् । नेपाली कांग्रेसका उपसभापति  शर्माले जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस भएको बताएका छन् । नेपाली जनताको माया र विश्वासले यो चुनावमा नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व कांग्रेस सभापति गगन थापाले गर्ने उपसभापति शर्माले ठोकुवा गरेका छन् ।

कांग्रेसले यसपटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्र मध्ये १०६ जना उम्मेदवारहरु नयाँ उठाएको उनले  जानकारी दिए। यसपटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको उपसभापति शर्माले बताए । बद्लिएको कांग्रेसले यसपटक आमकार्यकर्ता र कांग्रेसको शुभचिन्तकहरुका लागि आफ्नै चुनाव चिन्हमा उम्मेदवार उठाएर बद्लिएको कुरा पुष्टी गरेको छ ।

कांग्रेस बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब ‘परफेक्ट’ खालको देखिनुपर्ने उनको भनाई थियो । ‘हामी बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब परफेक्ट खालको देखिनुपर्यो, धेरै समय आसन ग्रहण र भाषणमा खर्च नगरौं, बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ,’ उपसभापति शर्माले भने ।
अर्को प्रसंगमा उनले कांग्रेसभित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउन लाग्न आब्हान गरेका छन्  । 

समय अपुग हुँदा उम्मेदवार छनोटका क्रममा कतिपय योग्य व्यक्ति छुटेको हुन सक्ने भन्दै प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन पाँच जना क्रियाशिल सदस्यहरु वरिपरीका ५० वटा घरमा पुगे पर्याप्त हुने शर्माले बताएका छन्  ।

‘पार्टीले आगामी फागुन १ देखी २१ सम्म ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ नामक अभियान सुरु गर्न लागेको उपसभापति शर्माले जानकारी दिए । प्रतिनिधि सभा निर्वाचनपछि देशलाई गाँसेर लैजाने ताकत कांग्रेससँग मात्र रहेको उनको दाबी छ । 

‘आगामी नयाँ वर्ष २०८३ सालपछि नयाँ सरकार आउने सम्भावना छ, त्यसपछि बैशाखपछि कांग्रेसको नियमित महाधिवेशनको मिति घोषणा हुन्छ, दशै–तिहारपछि स्थानीय तहको निर्वाचन तयारी सुरु हुन्छ,’ उनले भने, ‘स्थानीय तहमा वडादेखी मेयर र अध्यक्षसम्मको टिकट वितरण गर्नुअघि हामीले क्रियाशिल सदस्यको लिष्ट वडा तहमा पठाउँछौं, वडामा चुनावबाट उम्मेदवार छान्ने नीति हामीले बनाएका छौं ।’ २०८४ मा वडाअध्यक्षको चुनाव लड्ने तयारी गरेका नेताहरु यो निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न उपसभापति शर्माले निर्देशन दिएका छन्  ।

नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा गोपाल दहित, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र न ३ बाँकेका उम्मेदवार अमरसिंह पुन, प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस बाँकेका सभापति एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी र जिल्ला सचिव एवम् क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम सञ्चालन भने कांग्रेस बाँकेका सचिव एवम् लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरीले गरेकी थिइन्  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech