घुससहित बर्दियाका इन्जिनियर मल्ल पक्राउ

शाख न्यूज    प्रकाशित: २०८२-१०-१५ गते   २७० पटक हेरिएको

बर्दिया  - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित बर्दियाका इन्जिनियरलाई पक्राउ गरेको छ ।

अख्तियारका अनुसार बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई घुस लिएको आरोपमा पक्राउ गरिएको हो ।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्ललाई बिहीबार आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माण भएको चार कोठे भवनको अन्तिम बिल भुक्तानी सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा कारबाही अघि बढाइएको अख्तियारले जनाएको छ ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा मल्ललाई नियन्त्रणमा लिएको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech