मगर कला, संस्कृतिलाई आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिन्छ - अध्यक्ष विष्ट

शाख न्यूज    प्रकाशित: २०८२-१०-४ गते   ४८४ पटक हेरिएको

तुल बहादुर कुवँर 
दाङ - राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मगर समुदायको परम्परागत कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्दै त्यसलाई पर्यटनसँग जोडेर व्यावसायिकरूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल मगर संघ राप्ती गाउँपालिका समितिद्वारा माघे संक्रान्ति पर्वको अवसरमा शनिबार मसुरियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले मगर कला संस्कृतिलाई आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिने उल्लेख गरेका थिए । उनले मगर समुदायका संस्कृतिहरूलाई केवल चाडपर्वमा मात्र सीमित नराखी वर्षैभरि प्रस्तुत गर्ने र व्यवस्थितढंगले विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने गरी सांस्कृतिक कार्यक्रम, नृत्य, भेषभूषा, खानपान र परम्परागत जीवनशैलीलाई पर्यटनसँग जोड्न सके स्थानीय आर्थिक विकासमा टेवा पुग्ने उनले बताएका थिए । अध्यक्ष विष्टले मगर समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने बताए।

मगर समुदायका संस्कार र संस्कृति देशको पहिचान भएको उल्लेख गर्दै साहसी, इमान्दार र कर्तव्यनिष्ठ भएकाले विभिन्न कालखण्डमा देशको रक्षा र संरक्षणका लागि अग्रपंक्तिमा रहेर योगदान पुर्याएको बताएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले मगर समुदायको कला, संस्कृति र पहिचान संरक्षणमा सबैको साझा दायित्व रहेको भन्दै यस्ता सांस्कृतिक कार्यक्रमले आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने धारणा व्यक्त गरेका छन् । नेपाल मगर संघका केन्द्रीय सदस्य भीमप्रकाश पुन मगरले मगर समुदायको इतिहास, पहिचान र अधिकारको विषयमा चर्चा गर्दै सांस्कृतिक जागरणसँगै शैक्षिक, सामाजिक र राजनीतिक सशक्तिकरण आवश्यक रहेको बताएका छन् ।

सामाजिक अभियन्ता प्रकाश शाहीले मौलिक संस्कार र संस्कृति नै देशको पहिचान भएको उल्लेख गर्दै मगर समुदाय नेतृत्व तहमा पुग्न नसक्नु दुःखद विषय भएको बताए । उनले आफ्नो अधिकार र पहिचानका निम्ति एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल मगर संघ राप्ती गाउँपालिका समितिका अध्यक्ष हिराबहादुर पुन झाँक्री मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरी, वडा नं.५ का वडाध्यक्ष देवप्रसाद चौधरी, नेपाली सेनाका मेजर राजकुमार गिरी, इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, नेपाल मगर शिक्षक संघका केन्द्रीय सञ्चार सचिव कृष्णबहादुर बुढा मगर, नेपाल मगर संघ लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष इराधा झाँक्री मगर, प्रदेश सदस्य धनीराम घर्ती मगरलगायत मगर समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा विभिन्न वडाबाट आएका सहभागीहरूले मगर संस्कृति झल्किने मौलिक सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष कृष्ण पुन मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव टीकाबहादुर बीएमले गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech