अत्यधिक चिसो बढेपछि दाउरा र कम्बल बाँड्दै स्थानीय सरकार

शाख न्यूज    प्रकाशित: २०८२-९-१४ गते   १०६ पटक हेरिएको

नेपालगन्ज - बाँकेमा जिल्ला विपद् ब्यवस्थापन समितिले चिसो तथा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी सोही अनुसार काम गरिरहेको जनाएको छ । बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । बाँकेका स्थानीय तहले धमाधम दाउरा वितरण गर्न थालेका छन् । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार जिल्लाका आठ वटै पालिकाले दाउरा वितरण गरिरहेका छन् । 

स्थानीय तहले गरीब तथा विपन्नलाई कम्बल वितरण समेत गरिरहेका छन् । हालसम्म विभिन्न पालिकामा १०८० थान कम्बल वितरण भइसकेको ज्ञवालीले जानकारी दिएका छन् । जानकी गाउँपालिकामा ८००, राप्तीसोनारी गाउँपालिकामा १८०, कोहलपुर खजुरामा ५०/५० थान कम्बल वितरण गरिएको छ । बैजनाथले पनि कम्बल वितरण सुरु गरेको जनाएको छ । १७८० थान कम्बल मौज्दात छ ।

यस्तै सार्वजनिक स्थानमा आगो बाल्नका लागि ६४ चट्टा दाउरा मौज्दात रहेकोमा नरैनापुरले १० चट्टा तथा बैजनाथ, र राप्तीसोनारीले २/२ चट्टा दाउरा वितरण गरिसकेका छन् भने अन्य पालिकामा पनि वितरण हुँदैछ । नेपालगन्ज उपमहानगरपालिकाले पनि आजदेखि दाउरा वितरण गर्न सुरु गरेको छ । सार्वजनिक स्थान, चोक, मानिसको भिडभाड हुने ठाउँहरुमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

यसैगरी जिल्लाका सबै पालिकाले विद्यालयहरुमा जाडो विदा दिएका छन् । उक्त योजना अनुसार यस बर्ष बाँकेमा ३६ हजार घरपरिवारका १ लाख ७६ हजार मानिस चिसो तथा शीतलहरबाट प्रभावित हुने अनुमान गरिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech