विद्यार्थी लक्षित सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-९-३ गते   ३१० पटक हेरिएको

प्रेम सिंह 

नेपालगन्ज -३ पुस – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रमलाई निरन्तरता दिदै आएको छ।  सडक सुरक्षा र ट्राफिक सचेतनामाथि केन्द्रित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ब्रीटिस इङ्लिस बोर्डिङ स्कुल नेपालगन्ज मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका हवल्दार कृष्णबहादुर खड्का र सहायक हवल्दार टेकराज अधिकारीले विद्यार्थीहरूलाई ट्राफिक नियम सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।

विद्यालय स्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको खड्काले जानकारी दिएका छन् । 

मुख्य गरि सहरी क्षेत्रका विद्यालयका विद्यार्थीहरुले व्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकोले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने जानकारी दिएका छन् ।

कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक बत्तीको अर्थ, सडक पार गर्ने सही तरिका, सवारी साधन प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा हेल्मेट किन अनिवार्य रूपमा लगाउनु पर्छ भन्ने विषयमा व्यवहारिक र उदाहरणसहित सचेतना दिइएको थियो । विशेषगरी बालबालिकालाई सानै उमेरदेखि ट्राफिक नियमको ज्ञान भए दुर्घटना न्यूनीकरण गर्न सकिने र अभिभावकलाई पनि विद्यार्थीहरुले जानकारी दिनु पर्ने बताएका छन् ।

त्यसैगरि उनले बिधार्थीहरुसंग सडकमा सवारी साधन चलाउदा चालकले नियम विपरित कार्य गरे त्यसको जानकारी ट्राफिक प्रहरीलाई गर्न समेत आग्रह गरेका छन् । आयोजित कार्यक्रमको उद्देश्य विद्यालय तहका विद्यार्थीहरुमा सडक सुरक्षा र ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

ट्राफिक नियम उल्लङ्घनका सम्भावित जोखिम र सडक सुरक्षाको महत्त्वबारे प्रकाश पार्दै उनले व्यक्तिगत अनुभवहरु समेत सेयर गर्दै विद्यार्थीहरूसँग छलफल गरेका थिए ।हेल्मेटले टाउकोको सुरक्षा मात्र नभई जीवन रक्षा गर्ने महत्वपूर्ण साधन भएको बताउँदै ट्राफिक नियमको पालना सबै नागरिकको दायित्व भएको हवल्दार खड्काले जानकारी दिएका छन् । विद्यार्थीहरूले कार्यक्रमलाई चासोका साथ सुनेका थिए र जिज्ञासाहरू समेत राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफलेले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा अनुशासन, जिम्मेवारी र सामाजिक चेतना विकास हुने जानकारी दिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech