विभिन्न किसिमका हिंसाहरु हुने भएकाले कार्यस्थलमा असुरक्षित बन्दै महिलाहरु

शाख न्यूज    प्रकाशित: २०८२-८-१८ गते   २३६ पटक हेरिएको

नेपालगन्ज - कार्यस्थलमा महिलामाथि विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक कार्यक्रममा बताइएको छ । कार्यालयमा पुरुषहरुले अपशब्दको प्रयोग, अवाञ्छित, अश्लिल, अपमानजनक, यौनिक टिप्पणी, हेराई, मजाक गर्ने जस्ता क्रियाकलापले महिलाहरु असुरक्षित भएको कुरा औंल्याइएको छ ।

महिला, कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसंग गरेको छलफल कार्यक्रमका सहभागीहरुले सचेत महिलाले मात्र अवसर पाउने गरेको बताएका थिए । उनीहरुले नगर कार्यपालिकामा सहभागी महिलाहरु बैठकमा निर्धक्कका साथ बोल्न नसकेको अवस्था रहेकोले महिलाहरुलाई अवसर र सचेतनाको आवश्यकता रहेको बताएका थिए । उनीहरुले स्थानीय तहमा महिला जनप्रतिनिधिहरु नाम र कोटाका लागि मात्र सहभागिता गराउने गरिएकोले महिलालाई सक्षम र सबल बनाउनुपर्नेमा जोड दिएका थिए ।

आर्थिक अवस्था कमजोर हुनुले महिलाहरु बढी हिंसामा पर्ने भएकाले उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको थियो । सहभागीहले उपमहानगरपालिका कार्यालयमा लैङ्गिक हिंसाका घटना सम्बोधन गर्न जेड्सी फोकल पर्सनमार्फत हेल्प डेस्कको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया, संगिता रेग्मी, कौशलकुमार धोबी, वरिष्ठ महिला विकास अधिकृत पवित्रा पुरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, संस्थाका अध्यक्ष विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्रकुमार ज्ञवाली लगायतले महिलाका विभिन्न सवाल, समस्या र समाधानको उपायबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए । महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

संस्थाले नेपालगञ्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने लैङ्गिक तथा यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता निर्माण गर्न लागेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिए । उनका अनुसार यो नीति निर्माणका लागि विभिन्न लक्षित समूह तथा अन्य सरोकारवालासंग समेत छलफल गरिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech