नेपालगन्ज - लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ सुरु भएको छ । मंगलबार साँझ नेपालगन्जमा दिप प्रज्वलन गरेर अभियानको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले दियो बालेर अभियानको उद्घाटन गरेका हुन् ।
नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैङ्गिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेको प्रमुख विष्टले बताएका छन् । उनले लैङ्गिक समानता नीति निर्माण गरी सरकारले कार्यान्वयनमा ल्याइसकेको हुँदा महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको उल्लेख गरे ।
नगर उपप्रमुख कमरुद्दिन राईले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित र समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण बहादुर खत्रीले सबै क्षेत्रमा समानता र सम्मानको भावनाको विकास गर्न जरुरी रहेकोमा जोड दिए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीका अनुसार उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका कुमारी अधिकारी, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला, शक्ति समूहकी संयोजक निर्मला पौडेल, नारी विकास केन्द्र, साथी संस्था लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसका साथै १६ दिने अभियान अन्तर्गत विद्यालय तथा कलेजमा अभिमुखीकरण, जनप्रतिनिधि तथा अगुवा महिलाहरुलाई सचेतना कार्यक्रम, बाल संरक्षण प्रणाली सवलीकरण र जोखिम पहिचान कार्यक्रम, अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने कार्ययोजना निर्माण गरिएको महिला विकास अधिकृत आशा कुमारी शाहीले जानकारी दिइन् ।
विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान वा छोटकरीमा १६ दिने अभियान मनाइन्छ । महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) मा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का दिन १६ दिने अभियान समापन गर्ने गरिन्छ ।