५ औं कंचनपुर सम्मेलन बेलौरीमा सम्पन्न

आगामी कंचनपुर जिल्ला सम्मेलन बेदकोट नगरपालिकामा आयोजना हुने घोषणा

शाख न्यूज    प्रकाशित: २०८२-८-५ गते   ३३३ पटक हेरिएको

कंचनपुर - बेलौरी नगरपालिकाको आयोजनामा ५ औं कंचनपुर सम्मेलन शुक्रबार सम्पन्न भएको हो । दीगो विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र स्थानीय सरकारको सक्रिय भूमिका सुनिश्चित गर्न शुक्रबार बेलौरी नगरपालिकामा सम्पन्न भएको छ।

बेलौरी नगरपालिकाको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, मर्सिकोर नेपाल र युनिसेफ नेपालको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने मूल नारासहित सम्मेलनको आयोजना गरिएको थियोे ।

जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनिकरण र दिगो विकासबारे विस्तृत छलफल गर्दै जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि १० बुँदे घोषणा–पत्र जारी गरेको छ। घोषणामा सीमित प्राकृतिक स्रोतसाधनको दीर्घकालीन उपयोग, प्रविधि मैत्री पूर्वसूचना प्रणालीको प्रयोग, तथा जलवायु परिवर्तनसम्बन्धी विषयवस्तु स्थानीय पाठ्यक्रममा समावेश गर्ने समेत जनाएका छन्।

यसअघि भीमदत्त, पुनर्वास, दोधाराचाँदनी र लालझाडीमा आयोजित चार संस्करणका सम्मेलनमा हासिल अनुभव र निष्कर्षलाई आगामी रणनीति निर्माणमा प्रयोग गर्न पाँचौँ सम्मेलन बेलौरीमा आयोजना गरिएको हाे।

जल तथा मौसम विज्ञान विभाग अत्तरियाका प्रमुख सञ्जय शाहले महाकाली नदी, सहायक नदी तथा साना खोला–नालामा पूर्वसूचना प्रणाली विस्तारका लागि आवश्यक सेन्सर जडान, तथ्यांक संकलन र डिजिटल प्रवाहमा भएको प्रगतिका बारेमा जानकारी दिँदै भने, “समयमै सूचना उपलब्ध गराउन सकिएमा मानवीय तथा भौतिक क्षति उल्लेखनीय रूपमा न्यूनिकरण गर्न सकिन्छ, र यसबाट विकास निर्माण गतिविधिलाई सुरक्षित वातावरणमा सञ्चालन गर्न पनि सहयोग पुग्नेछ ।”

नेपाल समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले भने, “विपद् व्यवस्थापन केवल आपतकालीन प्रतिक्रिया वा राहत वितरणमा सीमित छैन, यो पूर्वतयारी, तथ्यांकको नियमित अद्यावधिक, समुदायको सहभागिता र अभ्याससहितको समग्र संरचनाको परिणाम हो, जसले वास्तविक परिस्थितिमा मानवीय र भौतिक क्षति न्यूनिकरण गर्न सक्ने क्षमता प्रदान गर्छ। स्थानीय तहका अधिकारी र सरोकारवालाबीचको सहयोग र समन्वयले मात्र दीगो र प्रभावकारी विपद् व्यवस्थापन सुनिश्चित गर्न सकिन्छ ।”

बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले जिल्लाका सबै पालिकाले नीति, नियम, चुनौती र समाधानका उपायमा साझा दृष्टिकोण बनाउँदै आएको जानकारी दिए 

कंचनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्थानीय सरकारहरू सक्षम छन्, तर योजना, कार्यान्वयन र समन्वयमा अझ सक्रिय हुनुपर्ने बताएका छन् । 

जिल्ला समन्वय समिति अध्यक्ष दुर्गादत्त बोहराले टिप्पणी गर्दै पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदासम्म राहत तथा उद्धारभन्दा पहिला सुरक्षा र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएका थिए।

गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्यले भने, “पूर्वसूचना प्रणाली केवल प्राविधिक संरचना मात्र होइन, यसलाई समुदाय स्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक छ, जसबाट सम्भावित जोखिमको पूर्व–पहिचान, तयारी र न्यूनिकरण कार्यमा वास्तविक सुधार आउँछ । जब समुदाय आफैंले प्रणालीको अभ्यास गर्छन्, तब मात्र योजना र पूर्वसूचना कार्यान्वयनले अपेक्षित परिणाम दिन सक्छ ।”

कार्यक्रमको अन्त्यमा आगामी छैठौँ कंचनपुर जिल्ला सम्मेलन बेदकोट नगरपालिकामा आयोजना हुने घोषणा गरिएको छ । बेलौरी नगरपालिकाकाका उप–प्रमुख जोगराम चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

सो सम्मेलनमा कार्यक्रम संयोजक राज कुमार सुनार, डीसीका निर्देशक दिनेश गुरुङ, आईएचआरआरका निर्देशक सुरज गौतम, गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका सह–सचिव गोविन्द प्रसाद रिजाल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख इन्जिनियर दिनेश भट्ट, जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधिहरु, सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्ट जिल्ला स्थित स्थानीय तहका प्रमुख उपप्रमुख सरकारी तथा गैरसरकारी संघ–संस्था, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, बुद्धिजीवी, समाजसेवी, विज्ञ एवम् सरोकारवालाहरुको सहभागिता रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech