अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ को अवसरमा दुई दिने कला प्रदर्शनी शुरु

शाख न्यूज    प्रकाशित: २०८२-८-१ गते   २३२ पटक हेरिएको

नेपालगन्ज - अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ को अवसरमा नेपालगन्जमा दुई दिने कला प्रदर्शनी शुरु भएको छ । द मदर फाउण्डेशन र नारी विकास केन्द्रको संयुक्त आयोजनामा नेपालगन्जमा दिवसको अवसरमा प्रदर्शनी शुरु भएको हो । 

दिवसको अवसरमा नारी विकास केन्द्रको हलमा इस्लामिक कला प्रदर्शनी तथा छलफल कार्यक्रम आयोजना गरिएको हो । सोमबार पूर्व न्यायाधिश एवम् द मदर फाउण्डेशनका संस्थापक डा. सल्लाहुद्दिन अख्तर सिद्दिकीले उद्घाटन गरे । भोली मंगलबार १८ नोभेम्बरमा पर्ने इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुरु भएको प्रदर्शनीको आज पहिलो दिन नागरिकहरुले अवलोकन गरेका छन् ।

ई. सं. २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) सम्मेलनको ४०औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ । यसले इस्लामको अतित र समकालीन कलात्मक अभिव्यक्ति र सभ्यतालाई कलाका माध्यमबाट संस्कृतिमा जागरुकता बढाउने उद्देश्य रहेको आयोजक द मदर फाउण्डेसनका संस्थापक सिद्दिकीले बताए ।

इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ । विभिन्न धर्मका कलाहरुलाई पहिचान गराउनका लागि प्रदर्शनी गरिएको छ भने कला संरक्षण तथा सामाजिक सद्भावको वातावरण अझ थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

प्रदर्शनीको उद्घाटन समारोहमा समाजसेवी महिला शान्ति श्रेष्ठ, नारी विकास केन्द्र नेपालगन्जका सचिव रचना श्रेष्ठ, कोषाध्यक्ष मेनुका बैद्य जोशी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायतले कलाको संरक्षण सम्बद्र्धनका लागि संग्रहालय बनाउनुपर्नेमा जोड दिए ।

प्रर्दशनीमा नेपालगन्जका वरिष्ठ कलाकार सिंहले बनाएका विभिन्न कला, मूर्ति लगायत सामग्री राखिएको छ । प्रदर्शनीको अवसरमा मंगलवार ‘नेपालको विकासमा इस्लामिक कलाको महत्व’ बारे अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । (साभार :-बागेश्वरी पोस्ट डटकम)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech